७ बैशाख २०८१, शुक्रबार

हिन्दु धर्मावलम्बी भारतीय मूलका ऋषि बने बेलायतको नयाँ प्रधानमन्त्री


ऋषि सुनक

लण्डन । हिन्दु धर्मावलम्बी भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसंगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बनेका हुन् ।

सुनक गत सेप्टेम्बर महिनामा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित भएका थिए भने यसपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी बेलायतको पूर्व अर्थमन्त्री रहेका थिए ।

उक्त पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि रपूर्वप्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीको दौडबाट बाहिरिएपछि सुनक प्रधानमन्त्री बनेका हुन् । मोर्डन्टले सुनकलाई समर्थन गरेकी थिइन् ।

प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणापछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो । बेलायतमा अहिले सो कन्जरभेटिभ पार्टीको बहुमत रहेको छ ।

प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको २ महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो ।

लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन् । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो । साथै उनको कार्यकालमा बेलाइतको मुद्रा अवमूल्यन भएको थियो ।

गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएएका थिए ।

नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !