११ बैशाख २०८१, मंगलबार

भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने


ऋषि सुनक

काठमाडौँ । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा ऋषि सुनक चयन भएका छन् । सुनक कन्जरभेटिभ पार्टीको नेतामा चयन भएसंगै बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतीय मूलका ४२ वर्षीय सुनक गत सेप्टेम्बर महिनामा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित भएका थिए भने यसपटक प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै भएको हो । यसअघि उनी बेलायतको पूर्व अर्थमन्त्री रहेका थिए ।

उक्त पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा समेत गरेकी छिन् ।

पूर्वप्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीको दौडबाट बाहिरिएपछि अब सुनकको प्रधानमन्त्री बन्ने निश्चित भएको हो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणापछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

पार्टीको नेता चुनिएलगत्तै ऋषि बेलायतको प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतमा अहिले कन्जरभेटिभ पार्टीको बहुमत छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !