४ बैशाख २०८१, मंगलबार

बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् राजीनामा


लिज ट्रस

लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । बेलायती प्रधानमन्त्री लिजले आज बिहीबार राजीनामा दिएकी हुन् । जटिल राजनीतिक तथा आर्थिक संकट उत्पन्न भएपछि लिजले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले सोचेअनुसारको काम गर्न नसकेको भन्दै आलोचना भएको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिइरहेका थिए ।

उनले यसअघि नै राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी दिएकी थिइन् । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहने छिन् ।

बेलायती प्रधानमन्त्री ट्रसले आफूले ‘कठिन समय’ बिताइरहेकोे स्वीकार गरेकी थिइन् । ट्रसले विपक्षीको कटाक्ष, सांसदहरूको विद्रोह र एक प्रमुख मन्त्रीको राजीनामाको सामना गरेकी थिइन् ।

अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेको केही दिनपछि र ट्रस सरकारको ऋणमा आधारित बजेटलाई टुक्राउने निर्णयले बेलायतको अर्थ बजारमा उथलपुथल मच्चाएको थियो ।

पाउण्ड र बेलायती नीतिको प्रतिफल कमजोर हुँदा बेलायती अर्थव्यवस्थाले ठूलो सङ्कटको सामना गरिरहेको छ र सरकारी सेवा कमजोर बन्नुका साथे बजार अस्थिर बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !