७ बैशाख २०८१, शुक्रबार

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु


नाइजेरियामा डुङ्गा दुर्घटना

अबुजा । नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो । सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गरेका छन् ।

त्यहाँ भएको सो दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको हो ।

शुक्रबार राति सो दुर्घटना भएको थियो । त्यस दुर्घटनाप्रति राष्ट्रपति बुहारीले सो विज्ञप्तिमा दुःख पनि व्यक्त गरेका छन् । गत शुक्रबार ८५ जना यात्रु लिएर गएको डुङ्गा देशको दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो ।

त्यस समयमा आएको बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । डुङ्गा दुर्घटनामा परेपछि त्यसमा रहेका यात्रुको उद्धारका लागि राष्ट्रपति बुहारीले आवश्यक सहयोग गर्न देशका सबै सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ । यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !