६ बैशाख २०८१, बिहिबार

विश्वप्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार


सलमान रुस्दी

न्यूयोर्क। विश्वप्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार भएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको न्यूयोर्क प्रहरीले बताएको छ ।

स्थानीय समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए । लेखक समेत रहेका ७५ वर्षीय उपन्यासकार रुस्दीलाई शुक्रबार पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण गरिएको हाे ।

एपीका अनुसार एक जनाले चौताउवा इन्स्टिच्युटमा स्टेजमा आएर रुस्दीलाई मुक्का वा छुरा प्रहार गरेपछि लेखकलाई लडाइएको वा भुइँमा ढलेका थिए । तस्बिरहरूमा रुस्दी उत्तानाे परेर लडेकाे देखिन्छ । रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोष्ट भएका छन् ।

रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । साथै रुस्दीको स्वास्थ्य अवस्थाबारे तत्कालै जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।

 सलमान रुस्दी

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । उक्त पुस्तक बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो ।

रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

उनलाई सन् १९८० को दशकमा इरानबाट ज्यान मार्ने धम्की आएकाे थियाे । रुस्दीको पुस्तक द सैटानिक भर्सेसलाई इरानमा सन् १९८८ देखि प्रतिबन्ध लगाइएको छ । धेरै मुस्लिमहरूले उक्त पुस्तकलाई आफ्नो ईश्वरप्रति निन्दा गरेको ठान्छन् ।

एक वर्ष पछि इरानका दिवंगत नेता अयातुल्ला रुहोल्लाह खोमेनीले रुस्दीको मृत्युको लागि आह्वान गर्दै फतवा वा आदेश जारी गरेका थिए। यस्तै, रुस्दीको हत्या गर्ने जो कोहीलाई पनि ३० मिलियन डलरभन्दा बढीको पुरस्कार प्रस्ताव गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !