७ बैशाख २०८१, शुक्रबार

विवादका कारण ब्रिटेनकी गृहमन्त्रीकाे राजिनामा


Amber Rudd

एजेन्सी, १७ वैशाख ।  ब्रिटेनकी गृहमन्त्री एम्बर रडले पदबाट राजीनामा दिएकी छन् । रडले ब्रिटेनबाट बाहिर निकाल्नुपर्ने क्यारेबियाली क्षेत्रका आप्रवासीको सीमाबारे भुलवश सांसदहरूलाई सहि जानकारी नदिएको बताएकी छन् ।

गृहमन्त्री रडले क्यारेबियाली क्षेत्रका कति आप्रवासीहरूलाई ब्रिटेनबाट बाहिर निकाल्ने भन्ने जानकारी नभएको बताएकी थिइन् । तर ब्रिटेनबाट फिर्ता पठाउनुपर्ने आप्रवासीहरूको सीमा उनैले निर्धारण गरेको खुलेको थियो ।

क्यारेबियाली क्षेत्रका आप्रवासीहरूलाई ब्रिटेन सरकारले गरेको व्यवहारलाई लिएर आलोचना बढेपछि रडले राजिनामा दिएकी हुन् । २१ महिने कार्यकालमा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना भैरहेको थियो । उनको राजीनामाले टरिजा मे सरकारलाई धक्का पुग्न सक्ने ठानिएको छ ।

ब्रिटेनमा लामो समयदेखि बस्दै आएका क्यारेबियाली क्षेत्रका आप्रवासीहरूलाई ब्रिटेनबाट निकाल्ने गृहका कर्मचारीले चेतावनी दिएका थिए । तर मन्त्री रडले भने कुनै निर्णय लिन सकेकी थिइनन् ।

एम्बर रडलाई प्रधानमन्त्री मेको उत्तराधिकारीका रुपमा हेरिएको थियो । उनको राजीनामाले प्रधानमन्त्री मेलाई मन्त्रिपरिषद्मा आफ्नो पक्षमा राजनीतिक सन्तुलन कायम गर्न कठिन हुन सक्ने ठानिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !