४ बैशाख २०८१, मंगलबार

श्रीलंकामा मन्त्रिपरिषद्‍मा सामेल सबै मन्त्रीहरुद्वारा सामूहिक राजीनामा


श्रीलंकामा सबै मन्त्रीहरुद्वारा सामूहिक राजीनामा Sri Lanka Muslim Politicians

कोलम्बो । श्रीलंकाका मन्त्रिपरिषद्‍मा सामेल सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । दशककै खराब आर्थिक संकटलाई व्यवस्थापन गर्न नसकेको जनआक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्मा सामेल सबै २६ जना मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीमा प्रधानमन्त्री महिन्दा राजापाक्षका आफ्नै छोरा समेत रहेको बताइएको छ । श्रीलंकामा प्रधानमन्त्रीकै भाइ गोटावाया राजापाक्ष राष्ट्रपति छन् । यद्यपि प्रधानमन्त्री राजापाक्षे र राष्ट्रपति गोताबायाले भने राजीनामा गरेका छैनन् । राजापाक्षे परिवारको राजीनामा मागिरहेका आक्रोशित प्रदर्शनकारीहरूले उक्त कदमको कुनै अर्थ नभएको बताएका छन् ।

श्रीलंकामा अहिले इन्धन, विद्युत र विदेशी मुद्राको ठूलो अभाव रहेको छ । मुलुकको आर्थिक अवस्था जर्जर बनेको र सर्वसाधारणको दैनिकी नै कष्टपूर्ण भएपछि सर्वसाधारण आन्दोलित भएका हुन् । राष्ट्रपति निवास अघि गरिएको व्यापक प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेकपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । श्रीलंकामा अहिले देशव्यापी संकटकालको घोषणा गरिएको छ ।

गत शुक्रबार राष्ट्रपति गोटावाया राजापाक्षले ३६ घन्टे कर्फ्यु आदेश जारी गरेका थिए । तर प्रदर्शनकारीहरू विभिन्न शहरहरूमा कर्फ्युको अवज्ञा गर्दै सडकमा निस्किएका छन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग लडाई गरिरहेको छ । विदेशी मुद्राको अभावमा इन्धन आयात गर्न सकिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !