१२ बैशाख २०८१, बुधबार

वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालय र क्याम्पस बन्द


नयाँ दिल्ली वायु प्रदूषण

नयाँ दिल्ली । वायु प्रदूषण बढेपछि नयाँ दिल्लीका विद्यालय र क्याम्पस अनिश्चित कालका लागि बन्द भएका छन् । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा रहेको भारतको राजधानी नयाँ दिल्ली रहेको छ । बिबिसीका अनुसार नयाँ दिल्लीमा वायु प्रदूषणको गुणस्तर सूचकाङ्कक (एक्युआई) ४ सय नाघेको छ । प्रदूषण बढेपछि आइतबारसम्म सबैखाले निर्माण कार्य बन्द गरिएको छ ।

यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ भने सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ । वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा धेरै पुगेको बताइएको छ, जुन गम्भीर अवस्था हो ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका थिए ।

तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् । त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार शून्यदेखि ५० सम्मको स्थितिलाई राम्रो र ५१ देखि १०० बीचकोलाई सन्तोषजनक मानिन्छ । अहिले दिल्लीको आकाश धुम्म छ । दीपावली सकिएलगत्तै प्रदूषण फैलिएको हो । हिउँदमा सहरनजिकका किसानले छैमल बाल्ने गर्दा वायुको गुणस्तर खराब हुनेगरेको छ ।

अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार हिजो (बुधबार) साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा नयाँदिल्ली पहिलो स्थानमा छ । दिल्लीको वायु प्रदूषण नियन्त्रणसम्बन्धी कमिसनले सकेसम्म घरबाटै काम गर्न र ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा खटाउन भनेको छ । दिल्लीमा अत्यावश्यक सामान बोक्नेबाहेक अन्य ट्रकको प्रवेश निषेध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !