७ बैशाख २०८१, शुक्रबार

डब्लएचओले भन्यो- युरोप फेरि कोरोनाको केन्द्र बन्यो


युरोप

कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोनभाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए ।

विहिवार सार्वजनिक भएको तथ्याङ्कले अघिल्लो बर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उहाँले उल्लेख गरे । “हामी महामारीको फेरि अर्को सङ्कटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौँ,” भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।

अहिले फेरि फर्किएको महामारी अघिल्लो वर्षको ‘रेकर्ड’समेत तोड्न सक्ने खतरा रहेको पनि उहाँले औल्याए । पछिल्लो समयमा युरोपेली क्षेत्र अन्तर्गत पर्ने विभिन्न देशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको उनले बताए ।

गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए भने २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो । “कोरोना भाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाको यो सङ्ख्या अनुमान गरेभन्दा धेरै र फरक हो,” क्षेत्रीय निर्देशक क्युगले भने ।

उनले आगामी दिनमा पनि कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने र हेलचक्रयाई गर्न नहुनेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !