८ बैशाख २०८१, शनिबार

तालिबान काबुलमा छिरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले गरे राजीनामा दिने तयारी


असर्फ घानी

काबुल । अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेपछि अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घानीले अबको केही घण्टाभित्रै राष्ट्रपति पदवाट राजीनामा दिन सक्ने सक्ने बताएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार घानीले बिद्रोही समूह तालिबानलाई सत्ता हस्तान्तरण गर्न लगेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँगको वार्ता जारी रहेको छ । यसअघि शनिबार घानीले एक वक्तव्य जारी गर्दै मुलुक गम्भीर खतरामा रहेको बताएका थिए ।

आज आइतबार बिहानैदेखि तालिबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । राष्ट्रपति घानीले हिजो शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको भन्दै अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने बताएका थिए ।

एएनआईले समाचार एजेन्सी ‘द खाम प्रेस’ लाई उद्धृत गर्दै अब बन्ने अन्तरिम सरकारको नेतृत्व जर्मनीका लागि अफ्गानिस्तानका पूर्व राजदूत अलि अहम्मद जलालीले गर्ने पनि उल्लेख गरेको छ ।

तालिबानले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुपर्ने भनी प्रस्ताव गरेपछि अहिले त्यस विषयमा छलफलको प्रक्रिया अघि बढेको समाचारमा उल्लेख छ । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको हो ।

यसैवीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !