७ बैशाख २०८१, शुक्रबार

बागदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट


बागदाद । इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ । सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्धितीयका बीचमा आइतबार भएको बताइएको छ ।

सो वार्ताको अग्रसरता इराकका प्रधानमन्त्री मुस्ताफाले लिनुभएको पनि विभिन्न अन्तार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस भेट तथा वार्ताका क्रममा उहाँहरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

सो भेटवार्तापछि आइतबार इराकी प्रधानमन्त्री मुस्ताफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो हामीहरुले गरेको भेटघाटले खासमा हामी एक छौँ र हामीले आवश्यकताअनुसार एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्छौँ भन्ने हो ।

साथै सो विज्ञप्तिमा यी तीन देशका नेताहरुको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरु तयार छौँ भनेर पनि
सन्देश दिन खोजेको उक्त प्रेस वक्तव्यमा जनाइएको छ ।

त्यस विज्ञप्तिमा हालैका दिनहरुमा यी तीन ओटा देशले सामना गरिरहेका चुनौतीहरुको समाधानका लागि सामुहिक रुपमा पहल गरिने जानकारी पनि दिइएको छ । खासमा यी तीन ओटा देशले हाल कोभिड १९ को समस्या झेल्नुपरिरहेको बताइएको छ । पछिल्ला दिनहरुमा यी देशमा पनि कोभिडले नराम्रोसँग असर गरिरहेको छ ।

त्यसैगरी जारी कोभिड १९को समस्यका कारण ती देशहरुको आर्थिक अवस्था निकै कठिन रुपमा गुज्रिरहेको र उनीहरुले आतंकवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको सो विज्ञप्तिमा जनाइएको छ ।

त्यसैले यी नेताहरुले जारी ती सबै खालका समस्याहरुको समाधानका लागि एकताबद्ध भएर लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरेका पनि बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !