१२ बैशाख २०८१, बुधबार

भारतमा एकैदिन ३ लाख ८६ हजार कोरोना संक्रमित, ३४९८ जनाको मृत्यु


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कारोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकैदिनमा ३ लाख ८६ हजार ४५२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा ३ हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दैनिक रुपमा संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार ४५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल १ करोड ५३ लाख ८४ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल १ करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !