७ बैशाख २०८१, शुक्रबार

भारतमा एकैदिन थपिए ३ लाख ३२ हजार कोरोना संक्रमित, २२५६ जनाको मृत्यु


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा एकैदिन ३ लाख ३२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २२५६ जनाको मृत्यु भएको छ । आईसीयू भरिएका छन् भने अक्सिजनको अभाव हुँदा संक्रमितको मृत्यु हुने क्रम बढेको छ। अहिले संसारभरी नै सबैभन्दा बढी संक्रमण भारतमै रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका हुन् । विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक ३ लाख नाघ्न थालेको छ । अघिल्लो दिन पनि भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा लगातार तेस्रो दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका हुन् । पछिल्लो २ दिनमा मात्रै ५ लाखभन्दा बढी संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ३ लाख ३२ हजार ५०३ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ पुगेको छ। योसँगै अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ।

कोरोको दोस्रो लहरमा गम्भीर बिरामी र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ।

भारतमा पछिल्लो १० दिनदेखि दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो १० दिनमा मात्रै १५ हजारले ज्यान गुमाएका छन् । भारतका अस्पतालहरूमा बेड अभाव भएको छ भने अक्सिजन सिलन्डर जोडेर संक्रमितहरूलाई अस्पतालको बरन्डा र परिसरमा समेत राखिएको छ ।

कयौं संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएको भारतीय मिडियाले बताएका छन् । भारतमा सबैभन्दा राम्रो स्वास्थ्य सेवा भएको राजधानी दिल्लीमा पनि संक्रमितले बेड पाउन छोडेका छन् । दिल्लीका ९९ प्रतिशत आईसीयू संक्रमितले भरिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !