७ बैशाख २०८१, शुक्रबार

म्यान्मारमा सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने सुकीलगायत समूहको प्रतिबद्धता


म्यान्मार

न्यापित । म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो ।” सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए । मान विन खाइन थान त्यसका प्रमुख हुनुहुन्छ र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।

भूमिगत रहेर नै उहाँले सैन्य ‘कू’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहनुभएको छ । सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा शनिवार म्यान्मारमा १२ प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ । गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ । यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !