७ बैशाख २०८१, शुक्रबार

मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा


Photo : BBC

बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन् ।

हालका राष्ट्रपति फस्टिन आचेन्ज टुडेरा अहिलेको निर्वाचनमा समेत अग्रपंक्तिमा रहनु भएको छ । तर चुनाव हुन एक साता अघिदेखि सत्ता विद्रोह हुने हल्ला चलेको थियो भने चुनावमा परस्पर धाँधलीका आरोप लागेका थिए । यसैबीच, विद्रोहीहरुले देशको चौथो ठूलो शहर केही समय कब्जामा पनि लिएका थिए ।

हिंसात्मक घटना बढ्दै गएपछि संकटमा परेको सरकारलाई मद्दत गर्न रसिया र रुवान्डाले थप सैनिक पठाएका थिए ।

राष्ट्रसंघीय शान्तिसेना र स्थानीय एवं रुवान्डाका सेनाले राजधानीका सडकमा गस्ती गरिरहेका थिए । उनीहरुले मतदान स्थलको सुरक्षाका लागि बख्तरबन्द गाडीको समेत प्रयोग गरेका थिए ।

बाङ्गुईमा मतदान सामग्रीको कमी भएपछि मतदान स्थलहरु ढिला गरी खुलेको एक जना चुनाव अधिकृतले बताए ।

यहाँ राष्ट्रपतिका लागि १६ जना चुनावी मैदानमा छन् । टुडेराका मुख्य प्रतिस्पर्धीका रुपमा पूर्व प्रधानमन्त्री एनिसेट जर्ज डोलोगिले रहनु भएको छ ।

चुनावको परिणाम आगामी जनवरी ४ बाट आंशिक रुपमा प्राप्त हुन थाल्ने र जनवरी १९ मा सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएलगत्तै सरकारका प्रवक्ता आङ्गे माक्सिमे काजागुईले सशस्त्र समूहको धम्कीलाई समेत बेवास्ता गर्दै मतदानमा भाग लिएकामा आम मतदाताप्रति आभार प्रकट गर्नु भएको छ ।

राष्ट्रिय निर्वाचन आयोगका अधिकारी मोमोकोमा थियोफाइलले केही स्थानमा छिटपुट घटना हुनुबाहेक देशैभर चुनावमा मतदाताको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा कुनै उम्मेदवार बहुमत ल्याउन नसके आगामी फेब्रुअरी १४ मा दोस्रो चरणको मतदान हुनेछ ।

बाङ्गुई बाहेक देशका विभिन्न भागमा विद्रोहीसँग भिडन्तहरु भएका खबर प्राप्त भएका छन् । कतिपय स्थानमा विद्रोहीहरुले स्थानीय मतदातालाई चुनावमा सहभागी नहुन धम्की दिएका थिए ।

चुनाव हुनुअघि १४० स्थानको राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका झण्डै १ हजार ५०० उम्मेदवारले सुरक्षा व्यवस्था कमजोर रहेका कारण चुनावी प्रचार गर्न समेत पाएका थिएनन् ।

पूर्व राष्ट्रपति फ्रान्को बोजिजेलाई भने न्यायाधीशले चुनावमा उठ्नबाट रोकेका थिए । फ्रान्कोमाथि राष्ट्रसंघीय प्रतिबन्धहरु रहेका छन् । चुनावमा उठ्न नपाएपछि फ्रान्कोले विद्रोहीको गठबन्धनलाई मद्दत गरेका थिए ।

सरकारले फ्रान्कोको इशारामा सत्ता विद्रोह हुन लागेको भन्दै डिसेम्बरमा एक विज्ञप्ति प्रकाशन गरेको थियो । तर सरकारको उक्त आरोप फ्रान्कोले अस्वीकार गरे पनि ठूलो संख्यामा विद्रोहीहरु राजधानीतर्फ अगाडि बढेका खबर प्राप्त भएका छन् ।

मध्य अफ्रिकी गणतन्त्र खनिज पदार्थका लागि निकै धनी राष्ट्र हो तर स्वतन्त्र भएयता ६० वर्षदेखि यहाँ जारी सशस्त्र विद्रोह र अस्थिरताका कारण गरिबी चरम स्थितिमा छ ।

सन् २०१३ यता भडकिएको गृहयुद्धबाट हजारौं मानिसको ज्यान गइसकेको छ भने करिब ४९ लाख जनसंख्या रहेको यस मुलुकबाट एक चौथाई मानिस अन्यत्र पलायन भएका छन् । झण्डै ६ लाख ७५ हजार मानिस झिमेकी मुलुकहरुमा शरणार्थीका रुपमा बस्न बाध्य छन् र उनीहरु मतदानका लागि योग्य छैनन् ।

पछिल्ला दुई वर्षदेखि रक्तपातमा केही कमी आएको छ तर हिंसात्मक घटना जारी छ । विद्रोही समूहहरुले देशको कूल भूभागको दुई तिहाई भन्दा बढी जमिन कब्जा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !