२५ भाद्र २०८१, मंगलबार

फुटबल इतिहासकै महानतम खेलाडी म्याराडोनाको निधन


डिएगो म्याराडोना

एजेन्सी । फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं पूर्वम्यानेजर समेत रहेका म्याराडोनाको नोभेम्बरको शुरुमा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अल्कोहलको उनको लतको उपचार गर्नुपर्ने पनि घोषणा गरिएको थियो ।

उनी आफ्नो फुटबल खेलाडी जीवनभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए । माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेका थिए । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गरेको थियो ।

हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा निधन भएको बीबीसीले उल्लेख गरेको छ । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए । म्याराडोना फुटबल इतिहासकै महानतम खेलाडीमध्ये एक मानिन्छन् ।

विशेषगरी ब्राजिलका पेले र म्याराडोनामध्ये को महान् भन्ने बहस चलिरहन्छ । फिफाले सन् २००० मा शताब्दीकै उत्कृष्ट फुटबलरको चयनका लागि गरेको अनलाईन भोटिङमा उनले सर्वाधिक मत ल्याएका थिए । यो अवार्ड पेले र म्याराडोनालाई संयुक्त रुपमा प्रदान गरियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !