६ बैशाख २०८१, बिहिबार

इथियोपियामा लडाकूको आक्रमणमा १४ सर्वसाधारण मारिए


तालिबान लडाकूहरु

आदिस अबाबा, २३ असोज । अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले गरेको कारबाहीमा लडाकू समूहका पनि १४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा लडाकू समूहले गरेको यो घातक हमला हो । हालैका साताहरुमा लडाकूहरुले गरेका घातक हमलामा परेर दर्जनौं व्यक्तिको ज्यान गएको थियो ।

उक्त क्षेत्रका सुरक्षा प्रमुख गाशु डुगाजले डान्गुर जिल्लामा लडाकू समूहले आक्रमण गरेको पुष्टी गर्नु भयो । उहाँले घाइते आठ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले घाइते एक जना विदेशी नागरिक रहेको बताए पनि विस्तृत विवरण प्राप्त भइनसकेको बताउनुभयो ।

इथियोपियाली सेना र प्रहरी सहितका सुरक्षाकर्मीको ठूलो संख्या उक्त क्षेत्रमा तैनाथ गरिएको छ । डान्गुर ओरेडाका एक जना स्थानीयवासी अबिनेट टेजाले उक्त क्षेत्रका जातीय अल्पसंख्यक अमहारा र अगावा जाति विरुद्ध आक्रमण भइरहेको र थप आक्रमण हुने डरले भयभित रहेको बताउनुभयो ।

गत सेप्टेम्बरमा इथियोपियाली मानव अधिकार आयोगले बेनिशान्गुल–गुमुज क्षेत्रमा अल्पसंख्यक आदिवासीमाथि भइरहेका सिलसिलाबद्ध आक्रमणप्रति चिन्ता व्यक्त गरेको थियो । त्यस बखत १५ जना स्थानीयबासी मारिएका थिए ।

सेप्टेम्बर ६ र ७ मा पनि स्थानीय अल्पसंख्यक व्यक्तिमाथि आक्रमण भएका र ती घटनामा १३ जनाभन्दा बढी व्यक्ति मारिएका थिए । आक्रमणबाट जोगिन झण्डै ३०० व्यक्ति अन्यत्र पलायन भएका छन् ।
इथियोपियामा जातीय तनाब एउटा प्रमुख चुनौती रहेको छ । प्रधानमन्त्री अबिय अहमदका लागि समेत जातीय विवाद समाधान गर्न नसक्दा टाउको दुखाई भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !