७ बैशाख २०८१, शुक्रबार

अमेरिकाको नेपालसहित ५९ देशका विद्यार्थीलाई २ वर्ष बढी भिसा नदिने तयारी


अमेरिका

वासिंटन, असोज ९ । सयुक्त राज्य अमेरिकाले विदेशबाट आएका विद्यार्थीलाई २ वर्षभन्दा लामो भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यस सम्बन्धी प्रस्ताव तयार पारेको बुझिएको छ ।

यद्यपि आगामी नोभेम्बरपछि ट्रम्पको दोस्रो कार्यकाल नभएको खण्डमा यस्तो योजना तुहिन सक्ने बताइएको छ । ट्रम्प प्रशासनले नेपाल लगायत विभिन्‍न ५९ देशका विद्यार्थीका लागि यस्तो कानुन मार्फत कडाइ गर्न लागेको हो ।

अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको थियो । जहाँ एफ, जे र आई समूहको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो।

पढाई समाप्त गरेर फर्कने विद्यार्थीहरुका लागि ६० दिनको अवधि दिइदै आएकोमा नयाँ नियममा त्यसलाई घटाएर ३० दिनमात्र बनाइएको छ । साथै भिसाको अवधि थप्न चाहने एफ, जे र आई भिसा वाहकले पनि नियमित बायोमेट्रिक दिनुपर्ने नयाँ नियममा उल्लेख छ ।

विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसामा नेपालीहरु ओभरस्टे हुने दर आर्थिक बर्ष २०१९ मा १३ दशमलव ४३ प्रतिशत रहेको थियो । ओभरस्टे भएर पनि अमेरिकाभित्रै रहेकाहरुको प्रतिशत भने ११ दशमलव ४३ प्रतिशत रहेको थियो । यो आधारमा हेर्दा नयाँ नियम लागु भएपछि विद्यार्थी भिसामा आउने नेपालीहरुलाई जम्मा २ बर्षसम्म बस्न पाउने गरी अध्यागमनले अवधि तोक्ने सम्भावना रहेको छ ।

ट्रम्पले यसअघि नै आप्रवासीका लागि विभिन्न कानुनको सहायताबाट कडाइ गर्ने नीति अवलम्बन गर्दै आएका छन् । सार्वजनिक सभामा समेत उनले खुलेरै आप्रवासीप्रति कडाइ गरिने अभिव्यक्ति दिएका थिए । आप्रवासीकै कारण देशमा असुरक्षा, ठगी र आपराधिक गतिविधि बढेको उनको विश्वास छ ।

विद्यार्थी भिसा सकिएपछि पनि विभिन्न वाहनामा अमेरिकामै बस्ने देशका नागरिकहरुको सूचीमा नेपालीलाई पनि राखिएको छ । सोही अनुरुप नेपालीका लागि पनि कडाइ गरिएको हो । नेपालसहित इरान, अफगानिस्तान, भियतनाम, फिलिपिन्स, उत्तर कोरिया लगायत देशलाई उक्त सूचीमा राखिएको छ । जुन देशका १० प्रतिशत विद्यार्थी भिसा सकिएपछि पनि अमेरिकामै बस्ने गरेको तथ्यांक ट्रम्प प्रशासनले पेश गरेको छ ।

थप जानकारीको लागि यो पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !