८ बैशाख २०८१, शनिबार

योसिहिडे सुगा जापानको प्रधानमन्त्रीमा निर्वाचित


योसिहिडे सुगा जापानको प्रधानमन्त्रीमा निर्वाचित Japan’s newly-elected Prime Minister Yoshihide Suga stands as he was chosen as new prime minister at the Lower House of Parliament in Tokyo, Japan September 16, 2020. REUTERS/Kim Kyung-Hoon

टोकियो, भदौ ३१ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बुधबार जापानी संसद्‍मा भएको चुनावमा सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।

सुगाले ४६५ सदस्य रहेको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ३१४ मत प्राप्त गरे भने २४५ सदस्य रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) मा १४२ मत प्राप्त गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

सुगाले बुधबार साँज जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । ७१ वर्षीय सुगा सन् १९९१ मा किची मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी प्रधानमन्त्री भएका छन् ।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुनिएको हो । आबेको राजीनामापछि उनीनिकट नेता मानिने सुगा नै संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको थियो ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ । त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री पदमा रहनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !