११ बैशाख २०८१, मंगलबार

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ– प्रधानमन्त्री


३० भदौ, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।

सो अन्तर्वार्ताका क्रममा उहाँले सो धारणा राख्नुभएको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उहाँले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् ।

त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिनुभएको हो ।

गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो ।

त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।

महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शृनहरु भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !