६ बैशाख २०८१, बिहिबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ४२ हजार नाघ्यो


कोरोना संक्रमित

नयाँ दिल्ली, २४ असार । भारतमा मङ्गलबार कोभिड-१९ का २२ हजार ७५२ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख ४२ हजार नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४२ हजार ४१७ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

भारतमा मङ्गलबार थप २२ हजार ७५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४८२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । भारतमा हालसम्म कोरोना भाइरसबाट २० हजार ६४२ जनाको मृत्यु भइसकेको छ ।

विज्ञप्तिका अनुसार बुधबार विहानसम्म ४ लाख ५६ हजार ८३० संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै पनि २ लाख ६४ हजार ९४४ व्यक्तिले संक्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख १७ हजार १२१ संक्रमित रहेका छन् भने ९ हजार २५० जनाको मृत्यु भएको छ । दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख १८ हजार ५९४ जना संक्रमित रहेका छन् भने १ हजार ६३६ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । यहाँ १ लाख २ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार १६५ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !