१२ बैशाख २०८१, बुधबार

अमेरिकाको बाल्टिमोरमा क्रिष्टोफर कोलम्बसको स्मारक तोडफोड


अमेरिकाको बाल्टिमोरमा क्रिष्टोफर कोलम्बसको स्मारक तोडफोड

बाल्टिमोर, २१ असार । अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिष्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए ।

प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले अमेरिकामा पछिल्ला दिनहरुमा कोलम्बस, कन्फिडेरेट नेताहरु र अरुहरुका स्मारकहरु सार्वजनिक स्थलबाट हटाउन माग गरिरहेका छन् ।

प्रदर्शनकारीको विचारमा इटालेली अन्वेषक क्रिस्टोफर अमेरिका सहित पश्चिमा देशहरुमा जातिसंहार र आदिवासी जनताको शोषणका लागि जिम्मेवार रहेका छन् ।

बाल्टिमोर सन अखबारका अनुसार उक्त स्मारक नगरपालिकाको स्वामित्वमा रहेको तथा पूर्व मेयर विलियम डोनाल्ड साफर र राष्ट्रपति रोनाल्ड रेगनको नाममा समर्पित रहेको थियो ।

बाल्टिमोरका मेयर बर्नार्ड योङका प्रवक्ता लेस्टर डेभिसले स्मारक भत्काइनु इतिहासलाई आफूखुशी व्याख्या गर्नु हो भन्नुभयो ।

प्रदर्शनकारीहरुले कोलम्बसका स्मारकहरु अरु राज्य एवं शहरहरुमा पनि भत्काइएका छन् । प्राप्त जानकारी अनुसार मायामी, रिचमन्ड, भर्जिनिया, सेन्ट पल, मिनेसोटा, बोस्टनमा रहेका कोलम्बसका शालिक तोडफोड गरिएका छन् ।

इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले पन्ध्रौं शताब्दीमा अमेरिका पत्ता लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !