१३ बैशाख २०८१, बिहिबार

जापानमा व्यापक बर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता


जापानमा व्यापक बर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता

टोकियो, २० असार । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् ।

कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् । रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन् ।

डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए । स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ ।

अधिकारीहरुले खोजी तथा उद्धार कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण एकिन गर्न नसकिएको बताएका छन् । प्रधानमन्त्री सिन्जे आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !