८ बैशाख २०८१, शनिबार

फ्रान्समा शालिक तोडफोड अस्वीकार्य : राष्ट्रपति म्याँक्रो


इमानुएल म्याँक्रो

पेरिस, १ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले विवादको घेरामा तानिएका शालिकहरु हटाउने वा इतिहासका तथ्यहरुलाई समाप्त पार्ने कार्यमा फ्रान्सको समर्थन नरहने बताउनुभएको छ ।

अश्वेत नागरिकमाथि विभेद गरिएको भन्दै विश्वका विभिन्न स्थानमा पूर्व उपनिवेशकालीन प्रतीक वा वस्तुमाथि प्रश्नचिह्न उठाइएको बारेमा प्रतिक्रिया दिँदै राष्ट्रपति म्याँक्रोले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याँक्रोले केही दिनदेखि फ्रान्समा प्रहरी दमनका विरुद्ध प्रदर्शनहरु भए पनि फ्रान्सभित्र जातीय विभेदकारी कार्यहरु भए त्यसलाई कुनैपनि अवस्थामा स्वीकार्न नसकिने स्पष्ट गर्नुभयो ।

कतिपय क्रुद्ध प्रदर्शनकारीले बेलायत र संयुक्तराज्य अमेरिकामा उपनिवेशसँग जोडिएका महत्वपूर्ण व्यक्तिका शालिकहरु तोडफोड गरेका छन् ।

तर राष्ट्रपति म्याँक्रोले विगतको विरासत वा कुनै कालखण्डको प्रतिनिधित्व गर्ने सामग्रीलाई तोडफोड गर्नुपर्छ भन्नेमा आफू सहमत नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, गणतन्त्र फ्रान्सले इतिहासमा दर्ज कुनै नाम वा विषयलाई त्यतिकै त्याग्न सक्दैन । आफूले गरेका कुनै कार्य फ्रान्सले त्यतिकै बिर्सन मिल्दैन । इतिहासका साक्षी कुनै पनि शालिक फ्रान्सले ढाल्ने छैन ।

उहाँले यो खासगरी अफ्रिकाका सन्दर्भमा महत्वपूर्ण रहेको छ भन्नुभयो । अफ्रिकाका धेरै देशमा फ्रान्सेली उपनिवेश रहेको र अझै पनि उपनिवेशको मुद्दाले अफ्रिकीलाई क्रुद्ध बनाउने गरेको छ ।

तर फ्रान्स र अफ्रिकाले वर्तमान र भविष्य निर्माणका लागि एकअर्कासँग मिलेर कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हालैका साताहरुमा फ्रान्सका विभिन्न शहरमा जातीयता र अल्पसंख्यकमाथि प्रहरीको दमन विरुद्ध प्रदर्शनहरु भएका छन् । यी प्रदर्शनहरु खासगरी अमेरिकामा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएडको मृत्यु भएपछि प्रहरी दमन र जातीय विभेद विरुद्ध केन्द्रित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !