७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्र र संयुक्तबीच पार्टी एकता


असोज २६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच हिजो पार्टी एकता भएको छ । हिजो यहाँ एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको धु्रबीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसांँै शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।”

उहाँले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिनुभयो र यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गर्नुभयो । आफूले पटक-पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै उहाँले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा(एमाले)सहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताउनुभयो । संयुक्तका सबै नेता, कार्यकर्तालाई उहाँहरुको भूमिका र योग्यता अनुरुप माओवादीमा जिम्मेवारी दिइने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिनुभयो । पार्टीहरुबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै उहाँले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन् । सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरहनुभएको छ । रासस

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !