७ बैशाख २०८१, शुक्रबार

आज थप ११४ नयाँ कोरोना सङ्क्रमण पुुष्टि


कोरोना भाइरस

काठमाडौँ, जेठ १४ । आज कूल ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका ८ जना, बालनविभूल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जना छन् ।

यसैगरी झापाको गौरादह नगरपालिकाका २ जना, कचनकवल नगरपालिकाका १५ जना छन् । मकवानपुरको हेटौँडाका १ जना, रौतहटको गढिमाई नगरपालिकाका ७ जना, बागलुङको तमानखोला गाउँपालिकाका ४ जना र बडिगाड गाउँपालिकाका २ जना, रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका ३ जना, दाङको घोराही उपमहानगरपालिकाका ७ जना र लमही नगरपालिकाका ८ जना, बाँकेको डुडुवा गाउँपालिकाका २ जना, राप्ती सोनारी गाउँपालिकाका ७ जना, वैजनाथ गाउँपालिकाका ६ जना र खजुरा गाउँपालिकाका १ जना छन् ।

साथै सिरहाको सिद्धिचरण नगरपालिकाका १ जना, सिरहा स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनी बस्ने १ जना, बाराको पर्चौदा नगरपालिकाका ७ जना, रौतहट स्थायी ठेगाना भई हाल बारामा रहेका १ जना, रौतहटको गौर नगरपालिकाका ८ जना, देवाही भोनाही नगरपालिकाका २ जना, कटहरिया नगरपालिकाका २ जना र रौतहटकै अन्य स्थानका १६ जना छन् । सबै पहिचान भएका सङ्क्रमित क्वारेन्टिमै रहेका प्रवक्ता देवकाटाले जानकारी दिनुभयो ।

सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं ५ का छन् । सो प्रदेशका ९ जिल्लामा ३६५ जनामा सङ्क्रण पुष्टि भएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश नं १ का ७ जिल्लामा १०३, प्रदेश नं २ का ८ जिल्लामा ३२४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको ४ जिल्लामा १३ र कर्णाली प्रदेशको ३ जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !