१२ बैशाख २०८१, बुधबार

व्यावसायिकताका साथ कर्तव्य निर्वाह गर्छु : नवनियुक्त महासचिव डा. गौतम


डा. भरतराज गौतम

काठमाडौँ, २३ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव डा. भरतराज गौतमलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुखले महासचिवलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष, सङ्घीय संसद्का विभिन्न समितिका सभापति, सांसद तथा सचिवालयका कर्मचारीको उपस्थिति थियो ।

शपथपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समन्वय गर्ने आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभयो । सभामुख र राष्ट्रियसभाको अध्यक्षले आफूलाई महासचिवका रुपमा सिफारिश गर्नुभएकामा उहाँहरुप्रति आभार प्रकट गर्नुभयो । “एउटा राष्ट्रसेवक कर्मचारीले आफ्नो ठाउँमा रहेर जे जस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, संविधान, नियमावली र कर्मचारी प्रशासनसम्बन्धी व्यवस्थालाई ध्यानमा दिएर व्यावसायिकताका साथ काम सम्पन्न गर्ने प्रण गर्दछु”, उहाँले भन्नुभयो । शपथलगत्तै उहाँले महासचिवको कार्यकक्षमा पदवहाली गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !