७ बैशाख २०८१, शुक्रबार

कांग्रेसका सांसद अर्यालले बाढीपीडितका लागि बीस घर बनाइदिने


भाद्र २०, मोरङ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा नं १९ का बाढीपीडितका लागि घर बनाइदिने भएका छन् । काँग्रेस १९ नं वडा समितिले मंगलबार आयोजना गरेको राहत वितरण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रमअन्तर्गत घर बनाउन सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गरेका हुन् । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयर पदमा सांसद अमृत अर्याललाई उम्मदेवार बनाउने चर्चा चलेको छ । अर्यालकै पहलमा मोरङमा ७५७ घर निर्माण सकिएको छ भने मोरङ क्षेत्र नं ५ को रङ्गेली नगरपालिकामा अवस्थित आँपगाछीको मुसहर बस्तीमा करिब सय घर निर्माण भइरहेको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र बाँतर समुदायलाई सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले घर बनाउन रकम उपलब्ध गराएको थियो । सांसद अर्यालले विराटनगर–१९ का बाढीपीडितलाई मंगलबार करिब रु तीन लाख बराबरको चामल, भुजा, चिउरा, दाल, तेल, नून र झुल वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल तरुण दल मोरङका सभापति सञ्जय थापा, काँग्रेस नेता त्रिलोचन रिजाल, वसन्त हुमागाईं, सन्तनु रेग्मी, सुबोध निरौला, महानगर उपप्रमुख इन्दु कार्कीलगायतले करिब २०० बाढीपीडितलाई राहत सामग्री वितरण गरे । अमेरिकामा बस्दै आएकी सुमना दवाडीको अगुवाइमा त्यहाँ रहेका नेपालीले संकलन गरेर पठाएको रकमबाट राहत सामग्री ल्याइएको कार्यक्रमका नेपालतर्फका संयोजक प्रदीप खतिवडाले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !