७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग


अनिता देवकोटा

काठमाडौँ, २० फागुन । राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गर्नुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गर्नुभयो ।

सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही व्यक्तिको फाइदाका लागि बाँडिदा पछि आइपर्ने समस्याका बारेमा बेलैमा सचेत हुन उहाँले आह्वान गर्नुभयो । अर्का सांसद इन्दु कडरियाले नेपालको वनजङ्गलमा पाइने जडीबुटी बाहिरिने तर औषधि महँगो भएर भित्रिने गरेकाले देशमै त्यसलाई उपयोग गर्ने विषयमा भएको कामका बारेमा जानकारी दिन सरकारसँग माग गर्नुभएको थियो ।

सांसद कविता बोगटीले हुम्लाको ताक्लाकोटमा १५० जना बेवारिसे बसिरहेको बताउँदै एक जनामात्र सदरमुकाम आएकाले बाँकीलाई पनि जाँच गरी ल्याउने व्यवस्था मिलाइयोस् भनी माग गर्नुभयो । सांसद कोमल वलीले दुई वर्षको कार्यकाल पूरा गरी बिदाइ हुने सांसदलाई कविता वाचन गरी बिदाइ गर्नुभयो । सांसद खिमकुमार विकले विभेदलाई कानूनले निषेध गरे पनि छुवाछूत बढिरहेको बताउँदै छुवाछूत मुक्त राष्ट्र घोषणा गर्न प्रगतिशील सरकारले काम गर्नुपर्ने बताउनुभयो । सांसदहरु उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी र तारादेवी भट्टले बिदाइ हुन लागेका १९ जना सांसदको सुखद एवं सफल जीवनको कामना गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !