८ बैशाख २०८१, शनिबार

प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने


house

झिमरुक, १४ फागुन । प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ । कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन् । आर्थिक वर्ष ०७६/०७७ का लागि जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले जानकारी दिनुभयो । दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण हुने उहाँले बताउनुभयो ।

प्रतिघर तीन लाख ३० हजार बजेट
प्रतिघर निर्माणका लागि प्रदेश सरकारले रु तीन लाख ३० हजारका दरले बजेट छुट्याएको छ । उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ । नयाँ बन्ने घरमा दुई कोठा ब्रण्डासहित शौचालयसमेत हुने रिजालले बताउनुभयो । विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताउनुभयो ।

जनता आवासमार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ । चालु आवमै विपन्न परिवारलाई हस्तान्तरण गरिने प्रदेशसभा सदस्य रिजालले बताउनुभयो । पालिकाको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य शुरुआत हुनेछ । सदस्य रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरी औँल्याउँदै अझ जिल्लामा प्रभावकारी कार्यक्रम ल्याउने योजना भएको बताउनुभयो । जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाइदिने निर्णयसहित प्रदेश सरकारसँग माग गरेको उहाँको भनाइ छ ।

जिल्लाका यी क्षेत्रमा निर्माण हुँदै घर

प्युठान क्षेत्र नं १ अन्तर्गत प्युठान नगरपालिका–३ विजयनगरमा दलित बस्तीमा ११, स्वर्गद्वारी नगरपालिका–८ चाल्नेटारमा १२, ऐरावती गाउँपालिका–१ दाङवाङको खल्नेटामा १४, सरुमारानी गाउँपालिका–१, २, ३ र ४ मा पनि १८ वटा नयाँ घर निर्माण हुने भएका छन् । यसैगरी क्षेत्र नं. २ अन्तर्गत गौमुखी गाउँपालिका–४ पुँजामा १५, गौमुखी गाउँपालिका–६ लिवाङमा सात, झिमरुक गाउँपालिका–७ मा १५, प्युठान नगरपालिका–८ मा १३ घर निर्माण गरिने प्रदेशसभा सदस्य रिजालले बताउनुभयो । यस्तै प्युठान नगरपालिका–७ मा पनि पाँच वटा लक्षित वर्गका लागि नयाँ घर निर्माण हुने उहाँको भनाइ छ ।

अघिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण
गत वर्ष प्रदेश सरकारको बजेटमार्फत जिल्लामा २६ नयाँ घर निर्माण भएका थिए । निर्माण गरिएका घर लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेशसभा सदस्य रिजालले जानकारी दिनुभयो । गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गतका बस्तीमा १८ र नौवहिनी गाउँपालिका– ५ मा आठ घर निर्माण भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !