८ बैशाख २०८१, शनिबार

बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि नेकपा भित्र को-को सँग के-के कुरा भयो ?


गोकुल बास्कोटा

९ फागुन, काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएका थिए । दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे ।

ओली र दाहालबीच बिहीबार बिहान भेट्ने कार्यक्रम अघिल्लो दिन नै तय भएको थियो । पार्टी अभियान, एकताका बाँकी काम, एमसीसी कार्यदलको तयारीलगायतका विषय कार्यसूची थिए । बाँस्कोटाको ‘घुस प्रकरण’ को अडियो सार्वजनिक भएपछि दाहालले प्रधानमन्त्रीसँग भेट्नुअगाडि पार्टी नेतासँग पनि छलफल गरेर बालुवाटार जान उचित हुने ठाने । दाहाल निवास स्रोतले भन्यो, ‘त्यसपछि दाहालले थापा र श्रेष्ठलाई निवासमै बोलाउनुभया । सचिवालयका अन्य नेताहरूसँग सम्भव भएसम्म टेलिफोनमा सम्पर्क गर्नुभयो ।’

दाहालले गृहजिल्ला रौतहटको गौरमा रहेका वरिष्ठ नेता माधव नेपालसँग पनि दाहालले टेलिफोनमा छलफल गरे । नेपालले मन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिए । वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ र मन्त्री थापाको राय लिएर दाहाल प्रधानमन्त्रीलाई भेट्न साढे १० बजे बालुवाटार पुगे ।

ओलीसँगको छलफलमा दाहालले सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग गराउन सहज बनाइदिनुपर्ने मत राखेका थिए । ओली भने एकपटक सञ्चारमन्त्रीसँग छलफल गर्ने पक्षमा थिए । त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो ।

कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो । सामाजिक सञ्जालमा पनि सञ्चारमन्त्रीको आलोचना चुलिँदै गयो । कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेर प्रतिनिधिसभा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए । ‘सञ्चारमन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद्मा अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’, प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाएका थिए ।

मन्त्री बाँस्कोटा सुदूरपश्चिमबाट राजधानी आउँदै थिए । सञ्चारमन्त्री बाँस्कोटा साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओलीलाई भेटे । ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा दिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !