१३ बैशाख २०८१, बिहिबार

सामाजिक कामलाई निरन्तरता दिन आग्रह


सामाजिक काम

दमौली, ६ फागुन । गाउँ सेवा कोषका संस्थापक अध्यक्ष स्व भीमबहादुर अधिकारीले शुरु गर्नुभएको सामाजिक कामलाई निरन्तरता दिन सकिए उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिइएको छ । अधिकारीको निधनको १३औँ दिनमा कोषद्वारा आज दमौलीमा आयोजित श्रद्धाञ्जलिसभाका सहभागीले अधिकारीको सामाजिक सेवाको कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कोषका उपाध्यक्ष ताराप्रसाद श्रेष्ठले सामाजिक सेवामा गहिरो रुचि राख्नुहुने अधिकारीको निधनले संस्था अभिभावकविहीन भएको बताउनुभयो । डा विष्णुबहादुर भण्डारीले अधिकारीको निधनले देशलाई नै अपूरणीय क्षति पुगेको भन्दै उहाँले देखाएको समाजसेवाको बाटोलाई बाँचेकाले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रद्धाञ्जलिसभामा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रजिअ रुद्रप्रसाद पण्डित लगायतले अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षाभत्ताका परिकल्पनाकारसमेत रहनुभएका भानु नगरपालिका–१२ मिर्लुङ निवासी अधिकारीको गत माघ २३ गते काठमाडौँमा निधन भएको थियो । विसं २००८ सालदेखि समाजसेवामा लाग्नुभएका उहाँले २०३३ सालमा तनहुँमा गाउँ सेवा कोष स्थापना गर्नुभएको थियो । उहाँले आफ्नो नाममा रहेको गैह्रीखेत बेचेर रु चार हजार एक सय उक्त कोषमा जम्मा गर्नुभएको थियो । नेपाल सरकारको सहसचिवबाट अवकाश पाउनुभएका अधिकारीले सेवाबाट अवकाशपछि पनि लामो समय बेरुजु फछ्र्यौट अनुगमन तथा मूल्याङ्कन समितिको सदस्य सचिव भएर काम गर्नुभएको थियो ।

गाउँसेवा कोषले प्रत्येक वर्ष जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । साथै स्वरोजगारमा उत्कृष्ट काम गरिरहेका व्यवसायीलाई पनि कोषले पुरस्कृत गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !