४ बैशाख २०८१, मंगलबार

मोटर र झोलुङ्गे पुल निर्माण


jholunge-pul-bridge-suspens

म्याग्दी, ६ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभयो ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर चल्ने पुल निर्माण भएको इञ्जिनीयर सन्तोष अर्यालले बताउनुभयो ।

पुल बनेपछि खोलाबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । बर्खायाममा सवारी आवतजावत अवरुद्ध हुने समस्या हटेको अध्यक्ष रोकाले बताउनुभयो । बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रको तयारी भएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताउनुभयो । दरवाङदेखि ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत पहिलो चरणमा दरवाङदेखि सात किलोमिटर ग्राभेल गर्न ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो ।

दुई वर्षअघि शुरु भएको बेनीदेखि बाबियाचौरसम्मको सडकको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । गत जेठमा ठेक्का लागेको लाम्पाटादेखि दरवाङ खण्डको स्तरोन्नतिको २० प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी मङ्गला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा रु ४७ लाख ८८ हजार ४६० को लागतमा १०४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुलबाट कोक्रवाङ, भाइजाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

मन्त्री बस्नेतले सोमबार नै मङ्गला गाउँपालिका–२ सिमलचौर र ३ पखरेको सिमानामा पर्ने लुलियाघाटस्थित म्याग्दी खोलामाथि पूर्वाधार विकास कार्यालयले बनाउन लागेको झोलुङ्गे पुलको शिलान्यास गर्नुभयो । मन्त्री बस्नेतले विकास आयोजनामा गुणस्तरहीन काम र ढिलासुस्ती सह्य नहुने बताउनुभयो । सरकारले समयमै पर्याप्त बजेटको व्यवस्थापन गरेको बताउँदै विकास आयोजनामा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि स्थानीय तह र जिल्लास्तरबाट समन्वय हुनुपर्ने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !