८ बैशाख २०८१, शनिबार

न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई


भजनी नगरपालिका

भजनी, २६ माघ । कैलालीको भजनी नगरपालिकामा न्यायिक समितिमा विवाद भएपछि न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख छायाँ देवकोटाले सम्पूर्ण जिम्मेवारी नगर प्रमुख शेरबहादुर चौधरीलाई हस्तान्तरण गर्नुभएको छ । नगरपालिकाको न्यायिक समितिमा कानूनी अधिकृत र अमिन नियुक्तिमा विवाद भएपछि नगर उपप्रमुख छायाँ देवकोटाले यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै न्यायिक समितिको सम्पूर्ण जिम्मेवारी नगर प्रमुखलाई सुम्पिनुभएको हो ।

नगरपालिकाको हालै सम्पन्न भएको नगरसभामा नगरपालिकाले न्यायिक समितिका लागि कानून अधिकृत र अमिन नियुक्ति हुनुपर्ने र न्यायिक समितिमा दर्ता भएका मुद्दाको छिटोछरितो निरुपण गर्ने गरी काम गर्न सहज वातावरणको सिर्जना गर्नुपर्ने, नगर उपप्रमुखको प्रस्ताव नगरसभामा सुनुवाइ नभएको भन्दै आफूले यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै न्यायिक समितिको सम्पूर्ण जिम्मेवारी नगर प्रमुखलाई सुम्पिएको बताउनुभयो ।

“न्यायिक समितिको नाम मात्रै छ । समितिमा मुद्दाको चाङ छ । काम गर्न विज्ञ नहुँदा कठिन भइरहेको छ”, नगर उपप्रमुख देवकोटाले भन्नुभयो, “काम गर्ने वातावरण नभए पदमा बस्नुको कुनै औचित्य पनि हुँदैन । समितिमा सहजीकरण गर्ने कोही छैन । मुद्दाको सङ्ख्या दिनप्रतिदिन बढ्दै छन् । यस्तो अवस्थामा काम गर्न नसकिने भन्दै न्यायिक समितिको सबै जिम्मेवारी नगर प्रमुखलाई हस्तान्तरण गर्नुपरेको हो ।”

चालू आर्थिक वर्षमा न्यायिक समितिमा ५५ वटा विभिन्न प्रकृतिमा मुद्दा दर्ता भएका छन् । यसमा निर्णय गर्नुपर्ने प्रकृतिका २७, मेलमिलाप गर्नुपर्ने प्रकृतिका २५, निवेदन तीन र दरपीठ गरेको एक गरी ५५ मुद्दा न्यायिक समितिमा दर्ता भएको न्यायिक समिति संयोजक छायाँ देवकोटाले बताउनुभयो ।

उहाँले २९ वटा मुद्दाको निरुपण भएको, २४ वटा मुद्दा प्रक्रियामा रहेको र दुई वटा मुद्दा अदालत पठाइएको बताउँदै प्रक्रियामा रहेको २४ मुद्दाको म्याद सकिएका कारण निरुपण गर्न समस्या भएको बताउनुभयो । निरुपण हुन बाँकी मुद्दामा १० वटा जग्गासम्बन्धी विवाद भएको कारण जमिन नापजाँच गर्न प्राविधिक कर्मचारी नहुँदा समस्या भएको चार वटा ज्याला मजदूरी नदिएकामा प्रतिवादी प्रक्रियामा नआएको र झिकाउने संयन्त्र तथा जनशक्ति नभएको सात वटा असुलउपरमा प्रतिवादीले प्रतिउत्तर नै नलगाएको र झिकाउने संयन्त्र नहुनुका साथै इलाका प्रहरीसँग समन्वय गर्न नसक्नु र बाँकी वटा मुद्दा प्रक्रियामा रहेको संयोजक देवकोटाले बताउनुभयो ।

न्यायिक समितिले मुद्दा दर्ता गर्ने काम छोडेपछि न्यायका लागि नगरपालिकासम्म आउने सेवाग्राही भने मर्कामा परेका छन् । उहाँहरु न्याय पाउने आशामा नगरपालिका पुगे पनि न्यायिक समितिले मुद्दा दर्ता नगरी नगर प्रमुखको कार्यकक्षमा पठाउन थालेपछि सेवाग्राही अलमलमा पर्ने गरेका छन् ।

यस विषयमा नगर प्रमुख शेरबहादुर चौधरीले संविधानले दिएको अधिकार कसैले हस्तान्तरण गर्दैमा हस्तान्तरण नहुने बताउनुभयो । न्यायिक समितिको जिम्मेवारी नगर उपप्रमुखको संयोजकत्वमा रहने संवैधानिक व्यवस्था छ । “त्यो कसैले कसैलाई हस्तान्तरण गर्दैमा हस्तान्तरण हुने कुरा होइन”, नगर प्रमुख चौधरीले भन्नुभयो, “नगरपालिकामा अमिनको व्यवस्था भइसकेको छ । कानूनी सल्लाहकार हुँदाहुँदै कानून अधिकृत राख्न मिल्दैन भोलि बेरुजु आउँछ ।” उहाँले न्यायिक समितिको काम कारवाही उपप्रमुखकै नेतृत्वमा हुने भन्दै आफ्नो जिम्मेवारी सम्हाल्न आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !