८ बैशाख २०८१, शनिबार

सीके राउतलाई थप १० दिन थुनामा राख्न अदालतले अनुमती दियो


CK Raut

माघ २१, २०७३- राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।
मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उनीविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ ।
प्रहरी नायब उपरीक्षक केसीका अनुसार गत माघ ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उनीमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको हो ।
सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई हिजो बिहीबार जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।
राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो र उनी धरौटीमा छुटेका थिए ।
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !