१२ बैशाख २०८१, बुधबार

आज घटस्थापना, देशभर घरघरमा जमरा राखिंदै


घटस्थापना

काठमाडौँ, १ कात्तिक । यस वर्षको नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी-देवताको आह्वान गरिन्छ । आज बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ११:४६ बजे शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जानेको छ ।

काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिकाले जानेको छ ।

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ । माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ । अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।

यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !