१३ बैशाख २०८१, बिहिबार

अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास


Nepalpatra

बाँके, २२ असार । बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ ।

गाउँमा अहिले दैनिक २० देखि २५ आन्तरिक पर्यटक आउँछन् । खप्तड उद्यम व्यापार केन्द्र (अस्ट्रिच फार्म) का व्यवस्थापक मनिराज जोशीका अनुसार फार्म हेर्न आउनेको घुइँचो लाग्न थालेपछि घरबास (होमस्टे)को व्यापारमा सुधार आएको छ । पाँच बिघा क्षेत्रफल २० वर्षका लागि भाडामा लिएर फार्म सञ्चालन गरिएको छ ।

अस्ट्रिच फार्ममा घुमेर निस्किने पर्यटकहरु खानपान र आरामका लागि बाँसले बेरेर निर्माण गरिएका होमस्टेमा पुग्छन् । मौलिक थारू परिकार खान्छन्, आराम गर्छन् । “नमूना थारू होमस्टेमा आउने पर्यटकले अस्ट्रिच अवलोकन र थारू परिकारको स्वाद पाइरहेका छन्”, होमस्टे सञ्चालक बाबुराम चौधरीले भन्नुभयो ।

अस्ट्रिचको मासु खानेदेखि हेर्न र अध्ययन गर्न विद्यार्थी आउने गरेको जोशीले सुनाउनुभयो । एउटा अस्ट्रिचबाट ८० देखि एक क्विन्टलसम्म मासु उत्पादन हुन्छ । प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका उहाँले व्यापारमा कुनै घाटा नलागेको बताउनुभयो ।

फार्ममा शुरुमा १५० अस्ट्रिच थिए । अहिले बिक्री भएर २० छन् । चाडपर्व र हिउँदका महीनामा पर्यटकको चाप बढी हुने गर्छ । यतिबेला आन्तरिक पर्यटककै भरमा फार्म र होमस्टे धानिएको जोशीले बताउनुभयो । सुनसान ठाउँमा अस्ट्रिच पाल्न थालेपछि होमस्टेको सम्भावना देखेर चौधरीले पनि होमस्टे सञ्चालन गरेको बताउनुभयो ।

होमस्टे शुरु गरेपछि चौधरी शुरुमा हाँसोका पात्र बन्नुभएको थियो । व्यापार जम्दै गएपछि छिमेकी बुजौना थारू, बालकृष्ण थारू, बुजावन चौधरीले समेत होमस्टे सञ्चालन गर्नुभएको छ । “अब मुक्त कमैयाको गाउँ चम्कियो”, होमस्टे सञ्चालक चौधरीले भन्नुभयो, “चहलपहल र होमस्टेको रौनक बढेपछि नयाँ होमस्टे थपिँदैछन् ।”

मेघराज चौधरीले अलपत्र जमीनमा टावरसहितको आधुनिक होमस्टे निर्माण शुरु गर्नुभएको छ । साथी गगन चौधरीको साझेदारीमा झन्डै रु ६० लाख लगानी गरेको उहाँले बताउनुभयो । “मान्छेको चहलपहल देखेको छु”, उहाँले भन्नुभयो, “ठूलो चराले गर्दा होमस्टे फस्टाउन थालेका छन् ।” बाँके निकुञ्ज नजिकै रहेका होमस्टेमा वन्यजन्तु अवलोकन गर्न पाइन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !