६ बैशाख २०८१, बिहिबार

आकाशको पानीको पर्खाइमा किसान


rain

धनगढी, २० असार । वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो ।

असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको छ ।

यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकासे पानीको पर्खाइमा बस्नुभएका अर्का किसान महेश कुँवर रासायनिक मल डिएपीको समेत अभाव हुँदा खेतीको काम कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका प्रमुख गोविन्द शर्मा १०÷१५ दिन अझै खडेरीको अवस्था रहेमा यस वर्षको बर्खे धान बाली उत्पादनमा ह्रास आउने बताउनुहुन्छ । उहाँका अनुसार हालसम्म पहाडी जिल्लामा ४५ देखि ५० प्रतिशत र कैलाली र कञ्चपुरमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिताकुमारी चौधरीले रासायनिक मल आपूर्तिको कार्य क्षेत्र सङ्घीय सरकारको रहेकाले मल आपूर्ति गर्न निरन्तर समन्वय भइरहेको राससलाई बताउनुभयो ।

सरकारी अनुदानको मल बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङ कर्पोरेशन लिको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !