१३ बैशाख २०८१, बिहिबार

आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामी बढे


Nepalpatra

बेझाड, १५ असार । रामपुर नगरपालिका–५ मटेरीका हरिकला रेग्मीले मेडिकलका औषधिमा धेरै रकम खर्च गर्नुभयो । उहाँलाई लामो समयदेखि ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान पटक्कै मन नलाग्ने समस्याले पिरोलेको थियो ।

यी समस्याका लागि पटक पटक निजी मेडिकल, अस्पतालमा धाउनुभयो, धेरै रकम खर्चिनुभयो, तर बेथा पिडा भने निको होलाभन्दा उस्तै रह्यो । “सन्चो होला भनेर मेडिकलमा गएर औषधि ल्याए र खान थालेपछि निको हुनुका सट्टा झन् बेथा बल्झिन थाल्यो” उहाँले भन्नुभयो । छ महिना अघिदेखि उहाँले आयुर्वेदिक औषधि नियमित रुपमा सेवन गर्दै आउनुभएको छ ।

“आयुर्वेदिक औषधालयमा गएर स्वास्थ्यकर्मीसँग जाँच गराएर नियमित औषधि खाएपछि बेथा ठिक हुँदै गएको छ, मेडिकलको औषधि प्रयोग गर्न छाडे” रेग्मीले भन्नुभयो । उहाँले अहिले बेला बेलामा आयुर्वेदिक औषधालयमा गएर स्वास्थ्य जाँच र औषधि खाने गर्नुहुन्छ ।

त्यस्तै देवका ढकाल पनि पेट दुख्ने समस्याले धेरै ठाउँमा उपचार गराउन पुग्नुभयो । मेडिकलको औषधि सेवनले निको होलाभन्दा झन् बेथा बढ्दै जान थालेपछि उहाँ पनि आयुर्वेदिक औषधालय अहिले धाउन थाल्नुभएको छ । “आयुर्वेदिक औषधि खाएर शरीरलाई ठिक पनि भएको छ, अहिले त तन्दरुस्त छु, पेट दुख्ने समस्या पनि कम हुँदै गएको छ, औषधि उपचार सेवा सबै निःशुल्क पाइने रहेछ” उहाँले भन्नुभयो ।

अहिले पाल्पाको रामपुर आयुर्वेदिक औषधालयमा सेवा लिनेको चाप बढ्दो छ । पेट, ग्याष्ट्रिक, खाना खान मन नलाग्ने, गानोगोला जस्ता समस्या लिएर बिरामीहरु अस्पतालमा जाने गरेको पाइएको छ ।

रामपुर औषाधालयमा दैनिक २५ देखि ३५ जनासम्म बिरामीहरुले सेवा लिदै आइरहेको वरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताउनुभयो । उहाँका अनुसार एक महिनामा ३५० जनाको हाराहारीमा बिरामीले सेवा लिएका छन् ।

नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यस औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । “प्रयाप्त साधन स्रोत नहँुदा नेपाल सरकारले तोकेका सबै प्रकारका औषधि दिन नसकिएपनि धेरै सेवन गर्नुपर्ने औषधिहरु वितरण भइरहेको छ” उहाँले भन्नुभयो ।

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले तानसेनमा रहेको कार्यालय र विभिन्न क्लिनिबाट जिल्लभरमा चालू आर्थिक वर्षमा ३३ हजार ६२३ जनाले आयुर्वेदिक सेवा लिएको जानकारी दिनुभयो । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वनस्पति वस्तुहरु मिसाएर बनाइएको जनस्वास्थ्यका लागि राम्रो मानिन्छ । घरायसी बहुमुल्य जडीबुटीबाट बनेका आयुर्वेदिक औषधिले पेट दुख्ने, ग्यास्ट्रिक, गानो गोला जस्ता समस्याको निको गर्ने हँुदा पनि हिजोआज सबैले घर घरमा खरीद गरेर राख्न थालेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !