७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड


Nepalpatra

मोहन पौडेल परासी, ११ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड दिएको छ ।

अतिक्रमणमा परेका जग्गाको पहिचान गरी त्यसमा निर्माण भएका संरचना हटाएर त्यसको संरक्षण र व्यवस्थापन गर्ने तथा सार्वजनिक जग्गाको बहुउपयोग गरेर आर्थिक उपार्जनका योजना तथा कार्यक्रम ल्याउने नीति गाउँपालिकाले अगाडि सारेको सो गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताउनुभयो ।

“कार्यविधि र कानून बनाएर विधिसम्मत रुपमा सार्वजनिक जग्गाको संरक्षण, व्यवस्थापन र बहुउपयोग गर्ने नीतिका साथ गाउँपालिका आगाडि बढेको छ”, उहाँले भन्नुभयो, “पहुँचवाला र जान्ने बुझ्ने तथा आफूलाई अगुवा भन्नेहरुले नै जग्गा अतिक्रमणमा संलग्न रहेको पाइएको छ ।” अतिक्रमणमा परेका जग्गालाई हटाउने तथा भूमिहीन र सुकुम्वासीको उचित व्यवस्थापन गर्ने पनि उहाँले बताउनुभयो ।

गाउँपालिकाले पहिलो चरणमा छ वटै वडामा रहेका सार्वजनिक जग्गा र अतिक्रमणमा परेका जग्गाको तथ्याङ्क सङ्कलन गरेको छ । गाउँपालिकाभित्र रहेका कूल २६९ बिघा १४ कट्ठा ९ धुर जग्गामध्ये ६६ बिघा ५ कट्ठा १४ घुर जग्गा अतिक्रमणमा परेको गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

“वडा नं ६ मा सबैभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले भन्नुभयो, “यो वडामा १६८ बिघा सार्वजनिक जग्गा रहेकामा ३६ बिघा ६ कट्ठा जग्गा अतिक्रमणमा परेको छ ।” तीमध्ये ५१ बिघामा रहेको ऐतिहासिक नन्दन तालको ११ बिघा १० कट्ठा जग्गा गाउँलेहरुले अतिक्रमण गरेर जोतभोग गर्दै आएका छन् ।

नन्दन तालको संरक्षण गर्न खोज्दा स्थानीयवासीले आफूहरुले जोतभोग गरिरहेको जग्गा रहेको दाबी गरेपछि गाउँपालिकाले उनीहरुलाई प्रमाणसहित पेश गर्न आग्रह गरेको छ । प्रमाण पेश भएमा कानूनअनुसार जाने र नभए संरक्षणको प्रक्रिया थाल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका–१ मा चार बिघा चार कट्ठा एक धुर सार्वजनिक जग्गामध्ये एक बिघा ८ कट्ठा जग्गा अतिक्रमणमा परेको छ भने कूल १४ बिघा १५ कट्ठा १३ धुर सार्वजनिक जग्गा रहेको वडा नं २ मा पाँच बिघा १६ कट्ठा एक धुर जग्गा अतिक्रमणमा परेको छ ।

यसैगरी वडा नं ३ मा १४ बिघा ११ कट्ठा एक धुर जग्गा अतिक्रमणमा परेको छ । सो वडामा २५ बिघा दश कट्ठा ६ धुर जग्गा रहेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै वडा नं ४ को कूल १५ बिघा १० कट्ठा नौ धुर जग्गामध्ये पाँच बिघा तीन कट्ठा १२ धुर र वडा नं ५ को ११ बिघा १४ कट्ठामध्ये तीन बिघा एक कट्ठा जग्गा अतिक्रमणमा परेको छ । दलित बस्ती बसाल्ने क्रममा अधिकांश सार्वजनिक जग्गा अतिक्रमणमा परेको बताइएको छ ।

यसैगरी सार्वजनिक पोखरीका जग्गाहरु पनि स्थानीयवासीले अतिक्रमण गरेर खेतीयोग्य जमीन बनाइएको छ । गाउँपालिकाले मङ्गलबार सम्पन्न गाउँसभाबाट सार्वजनिक जग्गा संरक्षण गरी राजश्व आम्दानी गर्ने नीति लिएको छ । गाउँपालिकाको स्वामित्वमा भोगाधिकार रहेको र संरक्षण तथा परिचालन गर्न सक्ने भवन, जग्गा, पोखरी, खोलानाला, अन्य सम्पत्तिको अभिलेख अद्यावधिक गरी राजश्व आम्दानीका प्रमुख स्रोतका रुपमा परिचालन गर्ने नीति गाउँपालिकाले लिएको जनाएको छ ।

नन्दन तालको अतिक्रमण हटाई पर्यटकीयस्थल बनाइने नीति पनि गाउँपालिकाको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाएर त्यसको बहुउपभोग गर्ने, सार्वजनिक जग्गालाई भाडामा दिएर गाउँपालिकाको राजश्व वृद्धि गर्ने तथा नदी किनारमा कृषि र फलफूल, तरकारी खेती गर्न प्रोत्साहन गर्ने नीति पनि गाउँपालिकाले लिएको जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !