७ बैशाख २०८१, शुक्रबार

डा. केसीको अवस्था गम्भीर, देशभरका चिकित्सक आन्दोलनमा


dr-govinda-kc-fast-un-to-death

काठमाडौं— उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ। जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

डा. केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि वार्ताबाट निष्कर्ष निकाल्न सरकार उदासीन रहेपछि चिकित्सकले आन्दोलन कडा बनाउँदै छन्। केसीको अनशन र मागप्रति १९ दिनसम्म मौन बसेको चिकित्सक संघसमेत विरोधका कार्यक्रममा अग्रसर भएको छ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । समयसीमाभित्र माग पूरा नभए देशव्यापी सेवा बहिष्कार गर्ने चेतावनी गोदानको छ ।

चिकित्सा शिक्षामा सुधारका लागि जीवनकै बाजी लगाएर लडिरहेका डा. गोविन्द केसीले उठाएका प्रमुख माग सम्बोधन गर्नुको साटो सरकारी वार्ता टोली तत्काल अनशन टुंग्याउने सहमतिका पक्षमा देखिएको छ । केसीले अनशन तोड्ने बटमलाइन बनाएको त्रिवि उपकुलपति तीर्थ खनियाँ र आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) का डिन डा. केपी सिंहलाई हटाउनुपर्ने मागमा सरकारी टोली कठोर रुपमा प्रस्तुत भइरहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !