१३ बैशाख २०८१, बिहिबार

११ दिनदेखि दसौं चरणको आमरण अनशनमा रहेका डा. केसीको अवस्था थप गम्भीर


dr-govinda-kc-fast-un-to-death

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि दसौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन् गम्भीर बन्दै छ। सरकारले उनका माग पूरा गर्न अझैसम्म कुनै पहल गरेको छैन।

अनशनका कारण जटिल बन्दै गएको डा. केसीको अवस्था जुनसुकै बेला पनि खतरनाक मोडमा पुग्न सक्ने चिकित्सकले औंल्याइरहेका छन्। उनको मुटुको चालमा समस्या देखिनुका साथै रक्तचाप र पल्सदरसमेत घट्दै गएको छ।

बुधबार डा. प्रदीपकुमार श्रेष्ठले सार्वजनिक गरेको डा. केसीको स्वास्थ्य रिपोर्टअनुसार उनको छातीमा दुखाइ बढिरहेको छ भने दायाँ फोक्सोमा हावाको बहाब कम हुँदै गएको छ।

मंगलबार राति स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पतालमै पुगेर सरकारले शिक्षा सचिवको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाउने तयारी गरेको जानकारी डा. केसीलाई दिएका थिए। लगत्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत यसबारे छलफल गरेका थिए।

यद्यपि, सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत उच्चस्तरीय समिति भन्दै तत्कालको समस्या समाधान गर्नेतर्फ ध्यान नदिई झारा टार्ने हिसाबले समिति गठन गरेको छ। त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

त्रिविले डिन नियुक्तिका विषयमा भइरहेको विवादलाई स्थायी रुपमा समाधान गर्न र आइओएमको समग्र विकास र उन्नतिका लागि भन्दै उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।

समितिमा आइओएमकै पूर्वडिन डा. कुमुदकुमार काफ्ले, डा. प्रकाश सायमी, डा. राकेशप्रसाद श्रीवास्तव, त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. मनोहरप्रसाद गुप्ता, डा. ऋदिशकुमार पोखरेल र त्रिवि अनुगमन समितिका विष्णु खनाल सदस्य राखिएका छन्। खनाल समितिका सदस्यसचिव छन्।

डा. केसीले अनशन र तत्कालका माग विपरीत त्रिविले जनताको आँखामा भ्रम छर्न र आन्दोलन तुहाउने नियतले समिति बनाएको बताए। ‘समितिमा रहेका सदस्य सबैलाई म आदार गर्छु,’ उनले भने, ‘तर माग एकातिर छ, अनि समितिको काम अर्कैतिर छ। यो त आन्दोलन तुहाउने षड्यन्त्र हो।’

समितिमार्फत तत्कालका कुनै पनि माग पूरा नहुने केसीले दाबी गरे। ‘त्रिवि उपकुलपति तीर्थ खनियाँले आफ्नो स्वार्थ पूरा गर्नका लागि चलेको षड्यन्त्र मात्र हो यो,’ उनले भने, ‘नौ महिना डिन खाली हुँदा कुनै काम अगाडि नबढाउने तर अहिले आन्दोलनमा बसेपछि डिनको समस्या समाधान गर्ने समिति बनाउनुको कुनै तुक छैन।’

डा. केसीले वरिष्ठता मिचेर बनाइएको तीनमहिने डिनले राजीनामा नगरेसम्म र त्रिवि उपकुलपति खनियाँलाई बर्खास्त नगरेसम्म अनशन नतोड्नेसमेत दोहोर्‍याए। सरकारको पछिल्लो कदमले १० बुँदे मागलाई ओझेलमा राखेर सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको पुष्टि भएको भन्दै डा. केसीले सरकारको आलोचना गरे।

‘तीन करोड नेपालीको स्वास्थ्य र गुणस्तरीय शिक्षाका विषयमा सरकार गम्भीर बनेको देखिएन,’ उनले बुधबार नागरिकसँग भने, ‘सरकार अझै पनि विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाउने खेलमा छ।’

उनले विश्वविद्यालयसहित कुनै पनि शिक्षण संस्थालाई कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिए। शिक्षा क्षेत्रलाई अमर्यादित बनाउँदै लगेको भन्दै उनले विद्यार्थीलाई पनि यसविरुद्ध आवाज उठाउन आग्रह गरे।

‘सोलिडारिटी फर डाक्टर केसी अलायन्स’ का संयोजक डा. जीवन क्षत्रीले पनि सरकारले उच्चस्तरीय समितिका नाममा तत्कालको समस्या समाधान नगरी भुलाउने रणनीति लिएको बताए। ‘दीर्घकालीन रुपमा समितिको काम राम्रो होला,’ उनले भने, ‘तर अहिलेको संकटको निकास निस्कने देखिँदैन। यो सिधै भुलाउने रणनीति मात्र हो।’

उनले यसअघि पनि विभिन्न समितिले दिएका सुझाव कार्यान्वयनमा आउन नसकेका कारण पुनः समिति बनाउँदैमा समस्या समाधान नहुने बताए।

चिकित्सक संघको चेतावनी

नेपाल चिकित्सक संघले ११ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै अनशन टुंग्याउन सरकारसँग माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै डा. केसीको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै ध्यानाकर्षण गरेको हो।

‘डा. केसीको जीवन रक्षाका लागि सरकारले अग्रसरता लिई अनशन यथाशक्य टुंग्याउन संघ जोडदार माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा संघ कडा कदम उठाउन बाध्य हुनेछ।’

संघले डा. केसीको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उपचार व्यवस्था गर्न पनि माग गरेको छ।

उपकुलपति कार्यालय घेराउ

एमबिबिएस अध्ययनरत विद्यार्थीको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस) र ‘सोलिडारिटी फर डाक्टर केसी अलायन्स’ ले संयुक्त रुपमा त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

‘नेता बिरामी–डाक्टर विदेशी, जनता बिरामी–डाक्टर गोविन्द केसी’, ‘डाक्टर केसीको माग पूरा गर,’ लगायत नारा लगाउँदै उनीहरुले उपकुलपति कार्यालय घेरेका हुन्। उनीहरुले वरिष्ठता विपरीत डा. केपी सिंहलाई आइओएमका डिन नियुक्त गरेको भन्दै उपकुलपति तीर्थ खनियाँको राजीनामा पनि माग गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !