७ बैशाख २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता, क्लिन्टन सुरुदेखि नै पछाडि


us-election-trump

काठमाडौँ : अमेरिकामा नयाँ राष्ट्रपति चुन्न भएको निर्वाचनको प्रारम्भिक परिणामले डोनल्ड ट्रम्प राष्ट्रपति हुने संकेत देखिएको छ। मतपरिणाम अनुसार सुरुदेखि नै उनको अग्रता कायम छ।

चुनावअगाडि मूलधारका मिडियाले गरेका सारा अनुमानहरुविपरीत हिलारी क्लिन्टन सुरुदेखि नै मतपरिणाममा पछाडि परिरहेकी छिन्। ट्रम्पले भने राष्ट्रपति निर्वाचित हुनका लागि जित्न आवश्यक मुख्य मुख्य राज्यहरुमा लगातार जित हात पारिरहेका छन्। फ्लोरिडा, ओहायो र नर्थ क्यारोलिना जस्ता महत्त्वपूर्ण राज्यहरुमा ट्रम्पले विजय हात पारेका छन्। क्लिन्टनले भने महत्त्वपूर्ण मानिएको भर्जिनियामा जित हात पारेकी छिन्।

मतगणनासँगै हिलारी खेमामा निराशा छाएको छ भने ट्रम्प खेमा उत्साहित छ।

यो निर्वाचन संसारकै जटिल निर्वाचन प्रणालीमध्ये एकमा पर्छ। अरु देशमा जस्तो मतदाताको प्रत्यक्ष भोटबाट राष्ट्रपति चुनिने नभई निर्वाचक मण्डलबाट राष्ट्रपति र उपराष्ट्रपति चुनिन्छन्।

जटिल प्रणाली नबुझे पनि बुझ्ने सजिलो उपाय भने छ। अमेरिकी निर्वाचनका अपडेटहरु दिने मिडियामा तपाईँले याद गर्नुपर्ने हुन्छ- रातो, नीलो र नम्बर २७०।

रातो रिपब्लिकन पार्टीको रङ्ग हो। नीलो भने डेमोक्रेट पार्टीको। रिपब्लिकन पार्टीको उम्मेदवार डोनल्ड ट्रम्प हुन् भने डेमोक्रेट पार्टीको हिलारी क्लिन्टन।

अमेरिकाको ५० राज्य र राजधानी वासिङटन गरी ५१ ठाउँलाई नक्सामा देखाइन्छ। कुन राज्यमा कुन रङ्ग देखाइयो, त्यहाँ त्यही पार्टीले जितेको हुन्छ।

अर्थात् फ्लोरिडा राज्यको नक्सामा नीलो देखियो भने त्यहाँ डेमोक्रेट अर्थात् हिलारी क्लिन्टनले जितेकी हुन्छिन्।

त्यसपछि तपाईँले याद गर्नुपर्ने अङ्क हो २७०।

हरेक राज्यमा जनसंख्या अनुसार छुट्टाछुट्टै इलेक्टोरल भोट हुन्छ। सबैभन्दा बढी जनसंख्या भएको राज्य क्यालिफोर्नियामा ५५ इलेक्टोरल भोट हुन्छ। टेक्ससमा ३८ र न्युयोर्क र फ्लोरिडामा २९ छ। अलास्का, डेलवेयर, वर्मान्ट र वायोमिङमा भने ३ मात्रै। अमेरिकी मतदाताले आफ्नो राज्यबाट इलेक्टोरल सदस्य चुन्ने हुन्।

सबै राज्य गरी कूल इलेक्टोरल भोट ५३८ हुन्। त्यसको बहुमत अर्थात् २७० इलेक्टोरल भोट पाउने उम्मेदवार अमेरिकी राष्ट्रपति निर्वाचित हुन्छ। तर निर्वाचनको मतपरिणाम आउने बित्तिकै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भइहाल्ने हैनन्। ५३८ जना १९ डिसेम्बरमा भेला भएर बल्ल औपचारिक रुपमा निर्वाचित गर्छन्। त्यसअघि नै कसले जित्ने भन्ने चाहिँ प्रष्ट भइसक्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !