१३ बैशाख २०८१, बिहिबार

संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय निर्वाचन आरम्भ


us-election

संयुक्त राज्य अमेरिकामा एकदमै तिक्ततापूर्ण चुनाव प्रचारप्रसार अभियानको अन्त्यसँगै अमेरिकीहरु नयाँ राष्ट्रपति चयन गर्न मतदान केन्द्रतर्फ गइरहेका छन्।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा देशको पूर्वी तटीय राज्यहरुमा मतदान जारी छ।

विभिन्न छ वटा समय रेखामा छरिएर रहेका ५० वटा राज्य र वाशिंगटन डीसीमा मंगलबार मतदानको दिन हो।

‘इस्ट कोस्ट’ भनिने देशको पूर्वी तटीय राज्यहरुमा स्थानीय समय अनुसार बिहानको ६ बजे अर्थात जीएमटी ११ बजेदेखि मतदान आरम्भ भएको छ, तर न्यू ह्याम्शर राज्यका केही ग्रामीण क्षेत्रमा भने पहिले नै मतदान भइसकेको छ।

अनुमान

सोमबार राष्ट्रपति पदका उम्मेदवारद्वय हिलरी क्लिन्टन र डोनल्ड ट्रम्पले महत्वपूर्ण राज्यहरुमा प्रचारप्रसार गरेर आफ्नो निर्वाचन अभियान सम्पन्न गरेका थिए।

निर्वाचनको प्रारम्भिक मत परिणाम अमेरिकी समय अनुसार मंगलबार राती अबेर अर्थात जीएमटी चार बजेबाट आउन आरम्भ हुने अनुमान छ।

मंगलबार नै अमेरिकीहरुले संसद्को माथिल्लो सदन सिनेटको एक सय स्थानमध्ये ३४ स्थानका लागि पनि मतदान गर्दैछन्।

यो मतदानको नतिजाले आगामी राष्ट्रपतिले आफ्नो कार्यकालमा के कति उपलब्धि हासिल गर्न सक्छन् भन्ने विषयमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।

जोखिम
सिनेटमा हाल रिपब्लिकनहरु तीन स्थानले बहुमतमा छन्, तर यो निर्वाचनमा उनीहरुका धेरैजसो उम्मेदवारहरु जोखिममा रहेका ठानिएको छ।

त्यसैगरी रिपब्लिकनहरुको कब्जामा रहेको संसद्को तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्स, को सबै ४३५ स्थानका लागि पनि मतदान हुँदैछ।

साथसाथै मतदाताहरुले १२ वटा राज्यका लागि गभर्नरहरुको पनि चयन गर्नेछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !