१२ बैशाख २०८१, बुधबार

अख्तियारमा पुनः अर्को भ्रष्ट नआओस् : डा. गोविन्द केसी


govinda-kc

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोगबाट हटाउनुपर्छ भन्ने अभियन्ता डा. गोविन्द केसीले फेरि अर्को लोकमान प्रवृत्तिको व्यक्तिलाई अख्तियारको जिम्मा दिन नहुने बताएका छन् ।

“मेरो माग आंशिक रुपमा पुरा भएको छ,” उनले भने–,“महाभियोग प्रस्ताव पारित हुन्छ कि हुँदैन भनेर अझै टुंगो लागेको छैन । यसलाई हामीले सतर्कतापूर्वक हेरेका छौं ।”
केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध पनि महाभियोग लगाउनैपर्ने बताएका छन् । “राज नारायण पाठक पनि यसका मतियार हुन्,” केसीले बाह्रखरीसँग कुरा गर्दै भने,“उनलाई पनि महाभियोग लगाउनुपर्छ । अब कामु प्रमुख आयुक्त कस्ता हुन्छन् । तिनको पनि काम हेर्नुपर्छ । हामीले सुनेअनुसार कामु आयुक्त पनि स्वच्छ छवीका छैनन् । अब पनि अख्तियारमा भ्रष्ट व्यक्ति आउनुहुँदैन ।”

डा. केसीले नेपालमा राजनीतिक र प्रशासनिक भ्रष्टाचार रहेको बताउँदै यसका लागि पनि आफूहरुको अभियान नरोकिने धारणा राखे । “नेपालमा राजनीतिक र प्रशासनिक भ्रष्टाचार बढी छ,” उनले भने,“यसका लागि पनि यो अभियान रोकिँदैन ।”

डा. केसीले आफूहरुसँग सरकारले गरेका सम्पूर्ण सम्झौता पालना नभएको बताउँदै तिहारसम्म सम्झौता कार्यान्वयन नभए फेरि पनि सत्याग्रहको बाटो रोज्ने बताए । “सरकारसँग भएका सम्पूर्ण सम्झौता पालना भएका छैनन्,” केसीले भने,“तिहारसम्म बाँकी माग पूरा नभए फेरि पनि सत्याग्रहमा बस्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !