८ बैशाख २०८१, शनिबार

प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन’


Nepalpatra

काठमाडौँ, १६ जेठ । वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले भन्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हाल सञ्चालनमा आएको कल सेन्टरसँग सो एप्लिकेशनलाई जोड्न गृहकार्य थाल्नुपर्ने उहाँले बताउनुभयो । सो अवसरमा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले शुभकामना एप्लिकेशनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउन गृहकार्य भइरहेको बताउनुभयो । “छोटो समयमा नै एपले राम्रो प्रतिक्रिया पाएको छ”, कार्कीले भन्नुभयो ।

एप्समार्फत वैदेशिक रोजगारीमा गएका परिवारका महिलालाई आर्थिक साक्षरताबारे जानकारी दिन ललितपुर, धादिङ, रसुवा र नुवाकोटका महिलालाई अभिमुखीकरण गरिएको आप्रवासी महिला कामदार समूह (आमकाष्ट) का अध्यक्ष विजया राईले जानकारी दिनुभयो । बीस वर्ष साउदी अरबमा काम गरी फर्कनुभएका अञ्जन श्रेष्ठले एप्स प्रभावकारी बनाउन प्रयोगकर्ताको सहजतामा ध्यान दिनुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा विभिन्न निजी क्षेत्रको अनुदानमा चलेका एप्सलाई आत्मनिर्भर बनाउनुपर्नेमा सहभागीले जोड दिए ।

सो एप्स आमकाष्ट र पिएनसिसीको अनुदानमा सञ्चालन भइरहेको छ । हाल एन्ड्रोइड मोबाइलमा उपलब्ध एप्स ६० हजारभन्दा बढीले डाउनलोड गरेका छन् । सीमान्तकृत समुदायमा वैदेशिक रोजगार साक्षरता अभिवृद्धि गर्न मैथिली र तामाङ भाषाका सामग्री पनि एप्समा समावेश गरिएको छ । एप्लिकेशनमा वैदेशिक रोजगारमा जानुपूर्व केकस्ता कुरामा ध्यान दिनुपर्छ, गन्तव्य मुलुकको भाषा र त्यहाँको संस्कृति कस्तो छ, गन्तव्य मुलुकका कामदारले मानसिक तनाव कम गर्न के गर्नुपर्छ र वैदेशिक रोजगारबाट स्वदेशमा फर्किएपछि केकस्ता व्यवसाय गर्दा राम्रो हुन्छ भन्ने जानकारी समावेश गरिएको छ । त्यसैगरी वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर आफ्नै देशमा व्यवसाय सञ्चालन गरेका व्यक्तिको सफलताको कथालाई पनि समावेश गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !