४ बैशाख २०८१, मंगलबार

वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी


उजुरी

चितवन, १६ जेठ । गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन् । मैनालीले कारागार नियमावलीमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिन बन्देज लगाइएकाले रोकिएको बताउनुभयो ।

सबैभन्दा बढी चितवन कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ३९ कैदीको आममाफीका लागि सिफारिस गरिएको थियो । उनीहरु अधिकांश गैँडा तस्करीमा संलग्न भएको अभियोगमा थुनामा छन् । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भरतपुरमा मात्र वन्यजन्तुका ९६ कैदीबन्दी छन् । वन्यजन्तुसँग सम्बन्धित तीन वृद्धसहित ३९ को सिफारिस गरिएकामा तिनीहरुको आममाफी नभएको उहाँले बताउनुभयो । विसं २०६२ सम्म वन्यजन्तुसँग सम्बन्धित कैदीले आममाफी पाउने गरेको भए पनि त्यसयता नपाएको काफ्लेले जानकारी दिनुभयो ।

कूल सिफारिस भएका ५७ मध्ये हातहतियार, डाँका र सवारी ज्यानका १५ ले मात्र आममाफी पाएका छन् । गणतन्त्र दिवसका अवसरमा देशभरका कारागारबाट ४३४ लाई आममाफी दिइएको छ । आधा कैद भुक्तान गरी असल चालचलन भएकालाई विशेष अवसर पारेर आममाफी दिने प्रचलन छ । सबै मुद्दाका कैदीबन्दीले आममाफी नपाउने व्यवस्था छ ।

रङ्गशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो ।

कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार कँडेलको नेतृत्वमा आएको टोलीले बुधबार भरतपुर महानगरपालिका–१५ मा निर्माण हुँदै गरेको रङ्गशालाको अस्थायी बार भत्काएका थियो । सोही आरोपमा प्रहरीले बुधबार १६ जना र डोजरसमेत नियन्त्रणमा लिएको थियो । रङ्गशालाको पश्चिमतर्फ घर जग्गा भएका स्थानीयवासीले बार भत्काएका थिए ।

हाल सो ठाउँमा सात मिटर फराकिलो बाटो छ । बाटो विस्तारका लागि थप जग्गा क्रिकेट रङ्गशालाका तर्फबाट छोड्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीका अनुसार बाटो विस्तारका विषयमा विवाद गर्दै आएका उनीहरुले डोजर लगाएर बार भत्काएका हुन् ।

निर्माणको काम भइरहेको समयमा स्थानीयवासीले अस्थायी बार भत्काएपछि निर्माणको वातावरण नबनेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको कामलाई रोकेको छ । फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्थानीय नेताको नेतृत्वमा आएको समूहले अस्थायी संरचनामा डोजर लगाएर भत्काइदिएपछि समस्या समाधान नभएसम्म काम गर्न नसकिने जनाएको हो । फाउण्डेशन अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले विज्ञप्ति जारी गरेर काम गर्न नसक्ने जानकारी दिनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !