११ बैशाख २०८१, मंगलबार

सरकारको ४५ दिने अवधीमा ३० प्रतिशत भूकम्प पीडितले पाएनन अनुदान


first-installment-for-quake-victim

आश्विन ३, २०७३- सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

घोषणाको अबधी गत सोमबार सकियो । तर, उक्त दिनसम्म उपत्यका बाहिरका ११ जिल्लाका करिब ३० प्रतिशत परिवारले किस्ता पाउन नसकेका हुन । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजनाले उपलब्ध गराएको तथ्याङक अनुसार करिब १६ प्रतिशत परिवारसंग त सरकारले सम्झौतानै गर्न सकेको छैन ।

‘जति काम भयो यसलाई हामीले उत्साहजनक रुपमा लिएका छौ,’ पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशिल ज्ञावलीले भने, ‘कानुनी र केहि प्राबिधिक कठिनाईका कारण सबै पीडितलाई अनुदान वितरण गर्न नसकिएको हो । त्यसको सामधान क्रमश: गर्दै जानेछौ ।’

तथ्याङक अनुसार उपत्यका बाहिर ५ लाख ३३ हजार परिवारले अनुदानको पहिलो किस्ता पाउनुपर्ने हो । यसमध्ये ४ लाख ४७ हजार ३ सय ५९ परिवारसंग मात्रै अनुदान सम्झौता भयो । सम्झौता भएमध्ये ३ लाख ७५ हजार ७ सय १५ परिवारले मात्रै अनुदान पाउन सफल भए ।

‘हामीले सबैलाई अनुदान वितरण गर्न नसकेपनि घोषणा पछिको अबधीमा भएको प्रगती उल्लेख्य हो,’ संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रिय आयोजनाका प्रमुख गणेश वस्तीले भने, ‘घोषणा हुनुपुर्व करिब ८ प्रतिशत परिवारले मात्रै अनुदान पाएका थिए, ७० प्रतिशत पुग्यो । ६३ प्रतिशतले बृद्धि भएको हो । यसलाई माइलस्टोनको रुपमा लिएका छौ ।’

श्रावण २१ मा जम्मा दुइ लाख ९५ हजार ७ सय २४ जनासंग मात्रै सम्झौता भएको थियो । हाल ४ लाख ४७ हजार ३ सय ४९ जनासंग भइसकेको उनले बताए । ‘कतिपय भूकम्प पीडितको ऐलानी जग्गा छ । अंशबन्डा भएको तर प्रमाण नभएका पनि छन् । ‘घर भत्कीएको तर मानिस जीवित नभएको पनि छन्,’ उनले भने, ‘अनुदान सम्झौता गर्न गाविस नि नजाने घरमै बस्ने, पछि लिन्छौ भन्ने पनि छन् । यसले सबै पीडितलाई अनुदान उपलब्ध गराउन असंभब भएको हो ।’

हालसम्मको तथ्याङक आधारमा १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार रुपैयाँ भूकम्प पीडितलाई भुक्तानी भइ सकेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले करिब ४२ हजार परिवारलाई मात्रै अनुदानको पहिलो किस्ता उपलब्ध गराएको थियो । नयाँ आर्थिक वर्ष लागेपछि करिब तीन लाख ३३ हजार परिवारलाई अनुदान रकम उपलब्ध गराएको हो । उपत्यकामा भने सर्वेक्षणको पुरै काम सकिएको छैन ।

सरकारले पुर्ण रुपमा घर क्षति भएको परिवारलाई पहिलो किस्ता अन्तर्गत ५० हजार, उक्त रकमले घरको जग निर्माण गरिसकेपछि दोस्रो किस्तामा ८० हजार र छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भए पश्चात तेस्रो तथा अन्तिम किस्ता ७० हजार रुपैयाँ दिने व्यवस्था गरेको छ ।

तर, केपी ओली नेतृत्वको सरकारका पालामा तत्कालिन प्रमुख प्रतिपक्ष दल कांग्रेससंग भूकम्प पिडितलाई एकमुष्ट डेढ लाख रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । दातृ निकायहरुसंगको सझदारी पछि अनुदान वितरण कार्यविधि परिवर्तन गरि उक्त रकम वितरण गर्ने भनेपनि समझदारी जुटिसकेको छैन । समझदारी जुटाउन यस विषयमा पछिल्लो समय सरकारको तर्फबाट गृहकार्य समेत भएको छैन ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले दुई लाख रुपैयाँलाई बढाएर तीन लखा दिने घोषणा गरेका छन् । पहिलो किस्तामा डेढ लाख र एक लाख बढाएर दिने घोषणाको विषयमा सरकाले गृहकार्य भने गरेकै छैन् । ‘तीन लाख रकम वितरणका लागि अर्थ मन्त्रालयले स्रोत जुटाउने हो । ‘ हालसम्म यसबारे केहिपनि भएको छैन,’ प्राधिकरणका सिइओ ज्ञावलीले भने, ‘एकमुष्ट डेढ लाख रुपैयाँ वितरणका लागि अनुदान कार्यविधि संशोधन गर्नुपर्छ । अहिलेसम्म संशोधन भएको छैन ।’

लाभग्राही र अनुदान पाउने प्रतिशतको आधारमा अहिलेसम्म सबैभन्दा बढी गोरखाका पीडितले अनुदान पाएका छन् । ५८ हजार ५ सय ३ परिवारले अनुदान पाउनुपर्ने हो । यसको ९८ प्रतिशत अर्थात ४८ हजार ६ सय ५८ जनाले पहिलो किस्ता पाएका हुन् । रामेछाप र ओखलढुंगामा पनि अनुदान पाउनुपर्ने मध्ये ९७ प्रतिशतले पाईसकेका छन् । शतप्रतिशत भने कुनैपनि जिल्लाका पीडितले अनुदान पाएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !