१२ बैशाख २०८१, बुधबार

धनसारडाँडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना


अस्पताल

बनेपा, २० वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–७ बनखुचौरको धनसारडाँडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्थापनासँगै सामुदायिक स्वास्थ्य एकाइ सेवा प्रारम्भ भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

यसअघि त्यहाँका स्थानीयवासी आधारभूत स्वास्थ्य सेवा लिन चार घण्टाको बाटो हिँडेर बनखुको गोलटारसम्म पुग्नुपथ्र्यो । धनसारडाँडामा नै स्वास्थ्य एकाइ स्थापना भएपछि अब त्यहाँका स्थानीयवासी घण्टौँ हिँडेर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । त्यससँगै अब सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापनासँगै नागरिकलाई स्वास्थ्य सेवा लिन पहुँच पुगेको छ ।

एकाइ स्थापनासँगै प्रदेश सरकारको समन्वयमा एक सीएमए र दुई अनमीको व्यवस्था गरी सेवाप्रवाह शुरु गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । गाउँपालिकाको सबै वडामा भएको स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा ६८ प्रकारका औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । एकाइ स्थापनासँगै स्थानीयवासी नरकुमार स्याङतान र मङ्गल श्रेष्ठले एक÷एक रोपनी जग्गा सामुदायिक स्वास्थ्य एकाइको नाममा निःशुल्क दान गरेका छन् ।

साविक स्वास्थ्यचौकी रहेका स्थानबाहेक स्थानीय बासिन्दाको आधारभूत स्वास्थ्य सेवा लिन पाउने अधिकारलाई सुनिश्चित गर्न गाउँपालिकाले उक्त एकाइसहित चार स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ । यसअघि गाउँपालिको २ नं वडाको स्याप्लेडाँडा, ३ नं वडाको दोंगा र ५ नं वडाको चौडिकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भइसकेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !