१३ बैशाख २०८१, बिहिबार

एउटै सडकमा दुई निकायबाट लगानी


Nepalpatra

८ वैशाख, गौर । रौतहट सदरमुकाम गौरस्थित एउटै सडकमा दुई निकायबाट लगानी भइरहेको पाइएको छ ।

शहरी विकास मन्त्रालयद्वारा गौर नगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत आश्रय निर्माण सेवा, स्वच्छन्द, धुकुचु जेभी वसुन्धाराले ठेक्का सकार गरेर नगरको विभिन्न सडकमा निर्माण कार्य शुरु गरिसकेको छ ।

सघन शहरी भवन निर्माण आयोजना पर्साद्वारा दुई करोड ३१ लाख २३ हजार २४१ रुपैयाँ ११ पैसामा बरहवा खोला छेउमा रहेका हनुमान मन्दिरदेखि भन्सार कार्यालयसम्मको सडकसहित विभिन्न निर्माण कार्य गर्ने तयारी गरिरहेकै अवस्थामा गौर नगरपालिकाबाट सोही सडकको नेपाल लजदेखि हनुमान मन्दिरसम्मको कालोपत्रे उप्काएर निर्माणकार्य थाल्दा एउटै सडकमा दुई निकायबाट काम गरेर अनियमितता गर्न खोजेको भन्दै स्थानीयवासीद्वारा त्यसको विरोध गरेका छन् ।

गौर नगरपालिकाले सडक बोर्डबाट बाटो मर्मत गर्ने बहानामा स्थानीय बासिन्दाको निजी जग्गामा रहेको पक्की घर भत्काउन खोज्दा अनिरुद्धप्रसाद केसरीले जिल्ला अदालत गौरमा उक्त कार्य रोक्न दायर गरेको रिट निवेदनमा अदालतले गत चैत २७ गते स्थानीयवासीको निजी जग्गामा बाटो नबनाउन नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

स्थानीयवासी सञ्जीव गुप्ताका अनुसार सघन शहरी विकास आयोजनाबाट काम हुने सड्कमा नगरपालिकाबाट मर्मत गराउने बहानामा अनियमितता गर्न खोजिँदा यहाँको बासिन्दा नगरपालिकाप्रति आक्रोशित बनेको बताए । अर्को स्थानीय महिला सिन्धु चौधरीले १२ बजे राति नगरपालिकाको डोजर ल्याएर घर अगाडि खनजोत गर्न लागेकोमा आपत्ति प्रकट गर्दै उहाँले बिना राय सुझाव तथा सीमाङ्कन नै नगरेर यसरी निजी सम्पत्तिलाई खनजोत गर्ने नगरपालिकाको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्नुभयो ।

अर्का स्थानीयवासी वीरेन्द्रकुमार मिश्रले गत वर्ष यसै सडकमा मर्मत गरेर सडक बोर्डको रकम निकासा गरेपनि पुनः अहिले मर्मतको नाममा ठूलो रकमको चलखेल गर्न लागेको कार्य अति नै निन्दनीय रहेको बताउनुभयो । यसरी एउटै सडकमा दुईवटा निकायबाट काम गरेर बिल भर्पाई पेश गरी रकम कुम्ल्याउनुबाहेक अन्य कुनै प्रयोजन नभएको आरोप लगाउँदै उहाँले यस्ता काम गर्ने निकायलाई कारवाही कसले गर्ला ? उहाँले प्रश्न गर्नुभयो ।

नेकपाका युवा नेता वीरेन्द्र साहले एउटै सडक एउटै कामका लागि नेपाल सरकार र नगरपालिकाले रकम विनियोजन गरेर निर्माण गर्ने प्रक्रिया अत्यन्तै गलत भएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सघन शहरी भवन निर्माण आयोजना पर्साका इञ्जिनीयर लक्ष्मण यादवले हनुमान मन्दिरदेखि भन्सारसम्मको बाटोमा १७ किसिमका काम गर्न निर्माण कम्पनी अग्रसर भइरहँदा पनि नगरपालिकाबाट काम भइरहेको सुन्दा आफूलाई पनि आश्चर्य लागेको बताउनुभयो । नगरको सडक बोर्डबाट काम गराउनुपर्दा निर्माण कम्पनी तथा सघन शहरी विकास निर्माण आयोजनासँग समन्वय गरेर मात्रै गर्नुपर्ने हुन्छ तर हामीसँग नगरपालिकाले कुनै समन्वय नगरेको जानकारी दिनुभयो ।

गौर नगरपालिकाको प्रमुख अजय गुप्ताले सघन शहरीद्वारा सडकपेटी बनाउने काम मात्रै रहेको हुँदा कालोपत्रे उप्किएको हुँदा पालिकाबाट मर्मतको कार्य मात्रै गरिरहेको बताउनुभयो । एउटै सडकमा दुई वटा निकायबाट काम हुनु कतिको उपयुक्त हो भने प्रश्न सोध्दा प्रमुख गुप्ताले सघन शहरीको न्यून बजेटबाट काम सम्पन्न हुन नसक्ने तथा उक्त बाटोमा सधैँ भीडभाड भई सडक नै अवरुद्ध भइरहेको हुँदा फराकिलो एवं व्यवस्थित बनाउनका लागि मात्रै नगरपालिकाबाट कार्य अघि बढाइएको बताउनुभयो ।

पन्ध्र बुँदे घोषणापत्र जारी

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम रौतहटको चन्द्रपुरमा १५ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको संयोजन तथा महासङ्घ केन्द्रीय कार्यालयद्वारा आयोजित “साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका” विषयक कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३० सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सो अवसरमा राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजन, व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले पत्रकारको सक्रियता भएर मात्रै नभई त्यसमा गुणात्मक र पारदर्शीता भएमा मात्रै यो क्षेत्रको विकास हुने बताउनुभयो ।

पत्रकारले अधिकार मात्रै खोज्ने मात्र नभई आफ्नो कतव्र्य बोध गर्नु पनि जरुरी रहेको बताउँदै उहाँले साना लगानीका सञ्चारमाध्यमको विकास तथा प्रवद्र्धन हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले मोफसलमा रहेका साना लगानीका मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्नेमा जोड दिदैं त्यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रदेश नम्बर २ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री डिम्पल झाले साना मिडिया र त्यसमा पनि महिलाको सङ्ख्यालाई कसरी अघि बढाउनुपर्नेमा सम्बन्धीत सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले साना लगानीका मिडियाको प्रवद्र्धनका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

महासङ्घ, साना लगानीका मिडिया हकहित तथा संरक्षण समितिका संयोजक गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासङ्घका सचिवद्वय शीतलप्रसाद महतो, रामप्रसाद दाहाल, केन्द्रीय सदस्य सुरेश यादव र गोपाल वराईलीलगायतले श्रमजिवी पत्रकार र साना लगानीका मिडियामा देखिएको समस्या र चुनौती अन्त्यका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिदैं यसको हकहित र प्रवद्र्धनका लागि महासङ्घले जस्तोसूकै कदम चाल्नमा पनि पछि नपर्ने स्पष्ट गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !